close

चीनले अन्तरिक्षमै खिच्यो पूरा फिल्म, ८के रेजोलुसनमा ठुलो पर्दामा हेर्न पाइने

टेकपाना टेकपाना

भदौ ३, २०८२ २३:४४

चीनले अन्तरिक्षमै खिच्यो पूरा फिल्म, ८के रेजोलुसनमा ठुलो पर्दामा हेर्न पाइने

काठमाडौँ । सिनेमा निर्माणमा हलिउडलाई समेत चुनौती पस्किँदै चीनले अन्तरिक्षमै वास्तविक दृश्यहरू समेटेर आफ्नो पहिलो ८के (8K) फिल्म तयार पारेको छ । ‘विन्डो इज ब्लू स्टार’ नाम दिइएको यो फिल्म आगामी ५ सेप्टेम्बर, २०२५ मा चीनका सिनेमाघरहरूमा प्रदर्शन हुने भएको छ ।

चिनियाँ मिडिया सीसीटिभी न्युज अनुसार दर्शकले अत्याधुनिक ८के रेजोलुसनमा ठुलो पर्दामा हेर्न पाउने छन् । 

यो फिल्मको सबैभन्दा विशेष पक्ष यसको छायाङ्कन हो, जुन पृथ्वीमा नभई चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनभित्रै गरिएको हो । शेन्झाउ-१३ मिसनका अन्तरिक्षयात्रीहरू झाइ झिगाङ, वाङ यापिङ र ये गुआङ्फुले आफैँले अन्तरिक्ष सिनेमेटोग्राफरको भूमिका निर्वाह गर्दै फिल्मका मुख्य दृश्यहरू खिचेका हुन् ।

फिल्म निर्माणका लागि चीनले स्वदेशमै विकास गरेको ८के अल्ट्रा-हाई-डेफिनिसन क्यामेरा प्रयोग गरेको थियो । निर्माण टोलीले रकेटको कम्पन र अन्तरिक्षको कठिन वातावरण जस्ता चुनौतीहरूलाई पार गर्दै यो असम्भवप्रायः कामलाई सम्भव बनाएको हो । फिल्मले अन्तरिक्षयात्रीको जीवनका निकट क्षणहरू र ब्रह्माण्डको अभूतपूर्व दृश्यलाई पर्दामा उतार्नेछ । वाङ यापिङको दृष्टिकोणबाट प्रस्तुत गरिएको यस फिल्ममा प्राविधिक अन्वेषणलाई मानवीय कथा र भावनासँग मिसाइएको छ ।

निर्देशक झु यिरानका अनुसार यो फिल्म चीनको ३० वर्ष लामो अन्तरिक्ष अभियानको प्रगतिको परिणाम हो । फिल्मले हलिउड रिपोर्टर जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट समेत प्रशंसा पाएको बताइएको छ ।

दर्शकलाई अन्तरिक्षको जीवन्त अनुभव प्रदान गर्न यो फिल्मलाई आईम्याक्स, सिनीटी, फोरडीएक्स जस्ता फर्म्याटमा रिलिज गरिने भएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ ०:६