काठमाडौँ । नेपाली बजारमा बीवाईडी नयाँ एसयूभी ‘एट्टो २’ सार्वजनिक भएको छ । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इन्कले नाडा अटो शो २०२५ को अवसर पारी यो इलेक्ट्रिक कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको हो ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले एट्टो २ अनावरण गरे । कम्पनीले यसलाई हालसम्मकै सबैभन्दा पहुँचयोग्य मूल्यको एसयूभी भएको दाबी गरेको छ ।
बीवाईडी एट्टो २ विशेषगरी युवा व्यवसायी र परिवारलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको कम्प्याक्ट डिजाइन, सहज ह्यान्डलिङ र एसयूभीको व्यावहारिकताले सहरी र सहरोन्मुख क्षेत्रका लागि यो एक उत्तम विकल्प बन्न सक्ने देखिन्छ ।
गाडीको लम्बाइ ४,३१० एमएम, चौडाइ १,८३० एमएम, उचाइ १,६७५ एमएम र ह्विलबेस २,६२० एमएम रहेको छ । २०० एमएमको ग्राउन्ड क्लियरेन्सले यसलाई नेपाली सडकका लागि उपयुक्त बनाएको कम्पनीको भनाइ छ ।
यसमा बीवाईडीकै ब्लेड ब्याट्री तथा एड्भान्स्ड सेल-टु-बडी (सीटीबी) निर्माण प्रविधि प्रयोग गरिएको छ । कम्पनीका अनुसार, ५१.१३ किलोवाट आवरको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४५ किलोमिटर (डब्लूएलटीपी) को रेन्ज प्रदान गर्दछ । “यसमा रहेको १०० किलोवाटको मोटरले २९० एनएम टर्क उत्पन्न गर्छ, जसले गर्दा गाडीले मात्र ९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ,” कम्पनीले भनेको छ ।
यसको बाहिरी डिजाइन आकर्षक र बोल्ड देखिन्छ । फुल एलईडी हेडलाइट, फ्लोटिङ रुफलाइन र पछाडिको भागमा अंग्रेजी अक्षर ‘8’ जस्तो देखिने ‘मोबियस इन्फिनिटी रिङ’ डिजाइनको रुफ स्पोइलरले यसलाई युवापुस्तामाझ लोकप्रिय बनाउने कम्पनीको अपेक्षा छ ।
बीवाईडीले गाडीको भित्री भाग प्रिमियम र प्रविधियुक्त बनाउन खोजेको छ । सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, सिक्स-वे पावर ड्राइभर सिट र फोर-वे पावर प्यासेन्जर सिटले स्टाइल र व्यावहारिकताको संयोजन गराएको विज्ञप्तिमा उल्लेख छ ।
१२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङ जस्ता फिचरले प्रविधि अनुभवलाई केन्द्रमा राखेको कम्पनीले उल्लेख गरेको छ ।
सुरक्षाको कुरा गर्दा एट्टो २ मा लेभल टु एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जडान गरिएको छ । जसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, अटो इमर्जेन्सी ब्रेकिङजस्ता अत्याधुनिक फिचर समावेश छन् । यसका साथै ६ ओटा एयरब्याग, ३६० डिग्री भ्यु मोनिटर र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले यसलाई आफ्नो सेग्मेन्टमा सुरक्षित गाडीको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।
बीवाईडी एट्टो २ को सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर पनि समावेश छ ।
नाडा अटो शो २०२५ मा बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, ३.३ किलोवाटको पोर्टेबल चार्जर, १० वर्षको विस्तारित वारेन्टी, निःशुल्क एक्सेसरिज प्याकेज र १० वर्षसम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी जस्ता अफर दिने भएको छ ।
यो गाडी ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइटमा उपलब्ध हुनेछ । कम्पनीले देशभरका बीवाईडी शोरुमहरूमा यसको बुकिङ खुला गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ ४, २०८२ १८:८
