अमेरिकी कम्पनीले झन्डै ३३ करोड रुपैयाँमा किन्यो नेपाली आईटी कम्पनी ‘एडेक्स इन्टरनेसनल’
भदौ ४, २०८२ २२:२२
काठमाडौँ । क्लाउड सेवा प्रदान गर्दै आएको नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेसनललाई अमेरिकी प्रविधि कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर (३३ करोड ४१ लाख रूपैयाँ)मा खरिद गरेको छ । योसँगै एडेक्सको शतप्रतिशत हिस्सा अमेरिकी कम्पनी टेकबे डिजिटलको स्वामित्वमा पुगेको छ ।
एडेक्स औपचारिक रूपमा सञ्चालनमा आएको तीन वर्षमै टेकबेले खरिद गरेको छ । एडेक्सले ६० जनाभन्दा बढीलाई रोजगारी दिइरहेको थियो ।
एडेक्स र टेकबे डिजिटलले शेयर खरिद सम्झौता (एसपीए) गरिसकेका छन् । एडेक्सका संस्थापकहरुले क्रमिक रूपमा आफ्नो नाममा रहेको शेयर टेकबेलाई हस्तान्तरण गर्दै जानेछन् ।
प्रज्ज्वल शर्मा र सौरभ सुवेदीले एडेक्स स्थापना गरेका हुन् । क्लाउड सेवासँगै एडेक्सले अमेजन वेब सर्भिसेस (एडब्लूएस) सम्बन्धी विभिन्न सेवा दिँदै आएको छ ।
एडेक्सले नेपालमा खल्ती, सानिमा बैंक, उपाय, डियरलोल्ड, एकबाना, एनआईसी एसिया क्यापिटल, विशाल ग्रुप, घामपावर लगायतका संस्थालाई सेवा दिँदै आएको छ । जसका कारण नयाँ व्यवस्थापन आएपछि कम्पनीको व्यवसाय थप सहज हुने एडेक्सले जनाएको छ ।
"एडेक्सले आफूलाई डाइनामिक र सस्टेनेबल बिजनेसको रूपमा स्थापित गरेको छ । यो शेयर खरिद-बिक्रीले कम्पनीको दुर्गामी नेतृत्व, बलियो टिम र व्यवसायमा हाम्रो रणनीतिक शैलीका कारण सफल भएको छ । यसले नेपालको सूचना प्रविधि क्षेत्रलाई विश्व बजारमा पुर्याउन सकिन्छ भन्ने स्पष्ट सन्देश हो," कम्पनीले विज्ञप्तिमा भनेको छ ।
पछिल्लो अध्यावधिक: भदौ ४, २०८२ २२:३२
