close

इजरायललाई क्लाउड सेवा दिएको भन्दै माइक्रोसफ्ट मुख्यालयमा विरोध प्रदर्शन, कर्मचारीसहित १८ पक्राउ

टेकपाना टेकपाना

भदौ ५, २०८२ १५:२

इजरायललाई क्लाउड सेवा दिएको भन्दै माइक्रोसफ्ट मुख्यालयमा विरोध प्रदर्शन, कर्मचारीसहित १८ पक्राउ

काठमाडौँ । माइक्रोसफ्टले इजरायलसँग गरेको क्लाउड कम्प्युटिङ सम्झौताको विरोधमा कम्पनीको मुख्यालयमा प्रदर्शन गरिरहेका माइक्रोसफ्टकै कर्मचारीसहित १८ जना पक्राउ परेका छन् । अमेरिकाको वासिङ्टनस्थित रेडमण्डमा रहेको मुख्यालयमा हालका र पूर्व कर्मचारीहरूले ‘नो एज्योर फर अपार्थाइड’ नामक समूहको आयोजनामा प्रदर्शन गरेका हुन् । जातीय या रंगभेद समर्थन गर्न माइक्रोसफ्टको क्लाउड सेवा एज्योर (Azure) प्रयोग नगरियोस् भन्ने मागसहित मङ्गलबारदेखि विरोध प्रदर्शन थालिएको हो ।

यसक्रममा प्रदर्शनको दोस्रो दिन बुधबार प्रहरीले १८ जनालाई पक्राउ गरेको हो । प्रदर्शनकारीहरूले माइक्रोसफ्टको मुख्यालयमा रहेको प्लाजा कब्जा गरी ‘Liberated Zone’ (मुक्त क्षेत्र) नामक क्याम्प स्थापना गरेका थिए भने कम्पनीको साइनबोर्डमा रातो रङ पोतेका थिए ।

रेडमण्ड प्रहरीका अनुसार केही प्रदर्शनकारीले पैदलयात्री पुल अवरुद्ध गर्नुका साथै कम्पनीका टेबल र कुर्सी चोरेर अवरोध सिर्जना गर्ने प्रयास गरेका थिए । पहिलो दिन शान्तिपूर्ण रूपमा प्रदर्शन भए पनि दोस्रो दिन केही प्रदर्शनकारी आक्रामक बनेको प्रहरीको दाबी छ ।

पक्राउ पर्ने १८ जनामध्ये एक माइक्रोसफ्टको क्लाउड र एआई टिममा कार्यरत सफ्टवेयर इन्जिनियर अन्ना ह्याटल हुन् । ‘नो एज्योर फर अपार्थाइड’ समूहका एक आयोजक तथा माइक्रोसफ्टका पूर्व कर्मचारी अब्दो मोहम्मदले ह्याटलसँगै पूर्वकर्मचारी होसाम नसर र वानिया अग्रवाल पनि पक्राउ परेको पुष्टि गरेका छन् । समूहले जारी गरेको विज्ञप्तिमा पक्राउ पर्नेमा हालका र पूर्वकर्मचारीका साथै सिएटलका स्थानीय बासिन्दा पनि रहेको उल्लेख छ ।

यो समूहले पछिल्ला केही महिनादेखि माइक्रोसफ्टले इजरायली सरकारसँग गरेको क्लाउड सम्झौताको विरुद्धमा शृंखलाबद्ध प्रदर्शन गर्दै आएको छ । यसअघि माइक्रोसफ्टको ५०औं वार्षिकोत्सव कार्यक्रममा एक पूर्वकर्मचारीले माइक्रोसफ्ट एआईका सीईओ मुस्तफा सुलेमानलाई war profiteer (युद्ध मुनाफाखोर) भन्दै कार्यक्रममा अवरोध पुर्याएका थिए । सोही कार्यक्रममा अर्का पूर्वकर्मचारीले कम्पनीका तीनैजना सीईओलाई अवरोध गरेका थिए । यसबाहेक उक्त समूहले यसै वर्षको सुरुमा भएको माइक्रोसफ्टको ‘बिल्ड’ सम्मेलनमा पनि पटक-पटक अवरोध गरेको थियो । त्यसपछि कम्पनीले प्यालेस्टाइन शब्द समावेश भएका ईमेलहरू ब्लक गरेको थियो ।

हालै द गार्डियनले एक अनुसन्धानमूलक रिपोर्ट प्रकाशित गरेपछि पछिल्लो प्रदर्शन सुरु भएको हो । उक्त रिपोर्टमा इजरायली सरकारले प्यालेस्टाइनीहरूको प्रति घण्टा १० लाख कलहरूको रेकर्डिङ र डेटा स्टोर गर्न माइक्रोसफ्टको क्लाउड सेवा प्रयोग गरिरहेको खुलासा गरिएको थियो ।

यस घटनाबारे माइक्रोसफ्टका एक प्रवक्ताले कम्पनीले इजरायलमा आफ्नो एज्योर प्लेटफर्मको कथित प्रयोगबारे आएका नयाँ आरोपहरूको विस्तृत र स्वतन्त्र समीक्षा गरिरहेको बताएका छन् । उनले भनेका छन्, “माइक्रोसफ्टले मध्यपूर्वमा आफ्नो मानवअधिकार मापदण्डलाई कायम राख्न आवश्यक काम गरिरहनेछ । साथै सम्पत्तिमा क्षति पुर्‍याउने, व्यवसायमा बाधा पुर्‍याउने वा अरूलाई धम्की दिने र हानि पुर्‍याउने गैरकानुनी कार्यहरूलाई सम्बोधन गर्न स्पष्ट कदम चाल्नेछ ।”

भर्जको सहयोगमा ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १५:२१