नमस्ते पे अब टेलिकमको सिम कार्डको आधिकारिक वितरक, कमिसन भुक्तानी वालेटबाटै
भदौ ५, २०८२ १५:५७
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । नमस्ते पे र नेपाल टेलिकमबिच भएको सम्झौता अनुसार अब सिम कार्ड बिक्रीवापत खुद्रा व्यवसायीले पाउने कमिसनको भुक्तानी नमस्ते पे मार्फत हुने भएको छ ।
कम्पनीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो व्यवस्थाले कमिसन भुक्तानी प्रक्रिया छिटो, पारदर्शी र सहज हुने जनाएको छ । नयाँ व्यवस्था अनुसार नेपाल टेलिकमको सिम कार्ड बिक्री गर्ने खुद्रा व्यवसायी तथा पीओएस आउटलेटहरूले ग्राहकको केवाईसी विवरण स्वीकृत भएको एक हप्ताभित्रै आफ्नो कमिसन नमस्ते पे वालेटमा सोझै प्राप्त गर्नेछन् ।
नेपाल टेलिकमले यो जिम्मेवारी आफ्नो सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (नमस्ते पे) लाई सुम्पेको हो । नमस्ते पेले आयकर ऐन बमोजिम लागु हुने कर कट्टा गरी यही भदाेदेखि भुक्तानी प्रक्रिया सम्पन्न गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै, नमस्ते पेका प्रयोगकर्ताहरूले यूएसएसडी कोड *500# डायल गरेर इन्टरनेट नभएको अवस्थामा (अफलाइन) पनि रिचार्ज, बिल भुक्तानी, पैसा पठाउने जस्ता सेवाहरूको लाभ लिन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १५:५७
