close

सामाजिक सञ्जालमा रास्वपाको ‘क्यान्डिडेट बेन्च’ को चर्चा

टेकपाना टेकपाना

भदौ ५, २०८२ १७:५१

सामाजिक सञ्जालमा रास्वपाको ‘क्यान्डिडेट बेन्च’ को चर्चा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न उपनिर्वाचनका लागि सुरु गरेको उम्मेदवार छनोटको शैली ‘क्यान्डिडेट बेन्च’ सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । १७ कात्तिकमा रुपन्देही क्षेत्र नं. ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरी थालिएको यो अभियानले पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अपनाएको भन्दै धेरैले प्रशंसा गरेका छन् ।

रास्वपाले बुधबारदेखि आफ्नो आधिकारिक सामाजिक सञ्जालमा सम्भावित नौ उम्मेदवारको अन्तर्वार्ताको भिडिओ सार्वजनिक गर्न थालेको छ । भिडिओमा उम्मेदवार बन्न निवेदन दिएका नौ जनालाई उनीहरूको योग्यता, उम्मेदवार बन्नुको कारण, लक्ष्य, योजना र सम्बन्धित क्षेत्रको विज्ञता जस्ता विषयमा प्रश्न सोधिएको छ । पार्टीले आफ्नो स्थापनाकालदेखि नै ‘जान्नेलाई छान्ने’ भन्ने नारालाई अघि सारेकोमा यो प्रक्रिया त्यसैको कार्यान्वयन भएको रास्वपा नेताहरू बताउँछन् ।

यो अभियानलाई लिएर सामाजिक सञ्जालमा अधिकांश प्रयोगकर्ताले सकारात्मक प्रतिक्रिया दिएका छन् । फेसबुक प्रयोगकर्ता प्रेम पौडेल लेख्छन्, “भलै रास्वपा नठीक होला तर उम्मेदवारी प्रक्रिया निकै सराहनीय लाग्यो । यो प्रक्रिया अन्य पार्टी र दलले पनि सिक्नुपर्ने देखियो, हैन भने सदनमा गएर लहरै सग्ला अक्षर पढ्न नसक्नेबाट अब हुनेवाला केही छैन ।”

यस्तै हरि क्षेत्रीले यसलाई राजनीतिज्ञ जन्माउने उत्तम तरिका भनेका छन् । उनी लेख्छन्, “यो हो नि छनोट प्रक्रिया । यसरी सबै उम्मेदवारको यस्तै गरी छनोट गर्ने हो भने सक्षम, योग्य, विज्ञ, क्षमतावान, कुशल छवि भएको राजनीतिज्ञ जन्माउन सकिन्छ । यो तरिका राम्रो छ ।”

टेक कार्की पनि यसमा सहमत छन् । उनी भन्छन्, “चुनावमा उम्मेदवार छान्ने तरिका सही लाग्यो । सबै पार्टीले यो विधि अपनाउने हो भने देशमा साह्रै राम्रा र दक्ष मान्छेहरू संसद भवनमा जाने थिए र देशले विकासको मोड लिने थियो ।”

एक्स प्रयोगकर्ता क्षितिज (@ashkdahal) ले यो प्रक्रियालाई प्रशंसा गर्दै “रेकर्डिङ गरेर सार्वजनिक गर्नु राम्रो, उम्मेदवारहरू जिम्मेवार हुन्छन्” भनेका छन् । 

 रास्वपाले फेसबुक पेजमा राखेको ‘क्यान्डिडेट बेन्च’ छलफलको अपडेट पोस्टमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यो विधि अन्य दलहरूले पनि अपनाउनुपर्नेमा जोड दिएका छन् ।

यी सकारात्मक प्रतिक्रियाहरूका बीच केही आलोचनात्मक स्वर पनि सुनिएका छन् । एक्समा दर्शन क्षेत्री (@darshanchhetry) लेख्छन्, “रास्वपाले रुपन्देही ३ को उम्मेदवार ८/१० दिन अघि नै टुंगो लगाउनु पर्थ्यो । धेरै दिन छि निर्णय गर्दा ९ जना प्रतिस्पर्धीबिच मनमुटाव सुरु भइसकेको हुनसक्छ । चुनाव हार्ने संभावना हुन्छ । यता किन ध्यान नदिएको होला ? सोसियल मिडियामा भिडिओ हालेर हिरोइजम बढी देखाए ।

केहीले यसलाई राजनीतिक स्टन्ट मात्र भएको टिप्पणी गरेका छन् । रास्वपाले ‘जान्नेलाई छान्ने’ भने पनि विगतमा पार्टीबाट निर्वाचित केही सांसदको योग्यता र कार्यशैलीलाई लिएर प्रश्न उठेको थियो । त्यसैले यो प्रक्रिया केवल प्रचारबाजी हो भन्ने केहीको बुझाइ छ ।

रास्वपाले ७ साउनदेखि उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेको थियो । पहिलो चरणमा पार्टीले आफ्ना सदस्यलाई उनीहरूको आधिकारिक एपबाट अनलाइनमार्फत दरखास्त दिन आह्वान गरेको थियो । यो २१ साउनसम्म चल्यो । २२ साउनमा पार्टीले निवेदन दिएका उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । त्यसैगरी २५ साउनमा पार्टीले उम्मेदवारसँग छलफल गर्‍यो र २६ साउनमा प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । त्यसमा कुल नौ जना छनोट भएका थिए ।

१ भदौमा पार्टीले नौ जनैसँग छुट्टाछुट्टै छलफल गरेको थियो । यसलाई पार्टीले ‘लिडरशिप एकेडेमी, पोलिटोकल प्रोक्सिमिटी र समावेशिताको मापन’ चरण नाम दिएको छ । यसपछि १२ र १३ भदौमा प्रारम्भिक निर्वाचन हुने र १५ भदौमा अन्तिम उम्मेदवारको नाम सार्वजनिक हुने पार्टीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १८:५८