close

साढे ८ हजार भारुमै फाइभजी फोन ल्याएको ‘एआईप्लस’ नेपालमा पनि आउने, चौधरी ग्रुपसँग सम्झौता

टेकपाना टेकपाना

भदौ ११, २०८२ १४:२

साढे ८ हजार भारुमै फाइभजी फोन ल्याएको ‘एआईप्लस’ नेपालमा पनि आउने, चौधरी ग्रुपसँग सम्झौता

काठमाडौँ । चौधरी समूह अन्तर्गतको सीजी मोबाइल्सले नेपाली बजारमा नयाँ स्मार्टफोन ब्राण्ड ‘एआईप्लस’ भित्र्याउने भएको छ । दशैंअगाडि नै उपलब्ध हुने यो ब्राण्डले भारतमा साढे ८ हजार भारतीय रुपैयाँ (करिब १३ हजार ६ सय नेपाली रुपैयाँ) मा फाइभजी स्मार्टफोन बिक्री गरिरहेको छ ।

नेपालमा इन्ट्री-लेभल स्मार्टफोनको ठुलो बजार हिस्सालाई लक्षित गर्दै सीजी मोबाइल्सले यो कदम चालेको हो । सीजी मोबाइल्सका बिजनेस युनिट प्रमुख विनय जोशीले कुल मोबाइल बजारको ५० देखि ५५ प्रतिशत हिस्सा अझै पनि २० हजार रुपैयाँभन्दा कमका फोनले ओगटेको बताए । उनले एआईप्लसको आक्रामक मूल्य निर्धारण र भविष्यमुखी नेतृत्वका कारण यो ब्राण्ड नेपालका लागि उपयुक्त हुने विश्वास व्यक्त गरे ।

माधव सेठले स्थापना गरेको एआईप्लस ब्राण्ड भारतीय बजारमा करिब दुई महिनाअघि मात्रै सार्वजनिक भएको थियो । सेठले यसअघि रियलमी र ओप्पो जस्ता स्थापित मोबाइल कम्पनीहरूको उच्च व्यवस्थापनमा काम गरिसकेका छन् । उनले आक्रामक मूल्यसहित भारतीय बजारमा प्रवेश गरेर छोटो समयमै चर्चा कमाएका छन् ।

नेपालमा पनि एआईप्लस स्मार्टफोनको मूल्य भारतीय बजारको जस्तै हुने जोशीले जानकारी दिए । “हामी केही समय भित्रै एआईप्लसका कुन कुन मोडल आउँछन्, त्यसको औपचारिक घोषणा गर्छौं । मूल्यको कुरा गर्नुहुन्छ भने भारतमा जति मूल्यमा बिक्री भइरहेको छ, उस्तै उस्तै मूल्य नेपालमा हुन्छ । धेरै फरक पर्दैन,” जोशीले टेकपानासँग भने ।

हाल भारतमा एआईप्लसले एआईप्लस पल्स (५,५०० भारु) र एआईप्लस नोभा फाइभजी (८,५०० भारुदेखि १०,००० भारुसम्म) जस्ता मोडलहरू बिक्री गरिरहेको छ । कम्पनीले इन्ट्री-लेभल स्मार्टफोनका साथै ट्याब्लेट, स्मार्टवाच, मिड-रेन्ज स्मार्टफोन र गेमिङ फोन पनि ल्याउने तयारी गरेको छ ।

सीजी मोबाइल्स हाल नेपाली बजारमा सीएमएफ, नथिङ र मोटोरोला ब्राण्डका स्मार्टफोनको पनि आधिकारिक बिक्रेता हो ।

पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ १४:३०