close

माइक्रोसफ्ट वर्डमा नयाँ सुविधा, अब फाइलहरू स्वचालित रूपमा क्लाउडमा सेभ हुने

टेकपाना टेकपाना

भदौ १३, २०८२ २१:४३

माइक्रोसफ्ट वर्डमा नयाँ सुविधा, अब फाइलहरू स्वचालित रूपमा क्लाउडमा सेभ हुने

काठमाडौँ । माइक्रोसफ्ट वर्डले अब आफ्ना डकुमेन्टहरू स्वचालित रूपमा क्लाउडमा सेभ गर्ने सुविधा ल्याएको छ । नयाँ अपडेटअनुसार अब सबै वर्ड डकुमेन्टहरूलाई वनड्राइभ वा प्रयोगकर्ताले छानेको अन्य क्लाउड डेस्टिनेसनमा स्वतः सेभ हुनेछ ।

यो स्वचालित क्लाउड ब्याकअप सुविधामा रिमोट पहुँच, सहज कोल्याबोरेसन र फाइल कन्ट्रोलका साथै उच्च सुरक्षा जस्ता थुप्रै फाइदा रहेको माइक्रोसफ्टको ब्लग पोस्टमा उल्लेख छ ।

यसका अतिरिक्त माइक्रोसफ्ट ३६५, कोपाइलट च्याट र कोपाइलट लाइसेन्स भएका प्रयोगकर्ताले कोपाइलट र एजेन्ट सुविधाहरूको समेत उपयोग गर्न सक्नेछन् ।

आफ्ना संवेदनशील फाइलहरू क्लाउडमा स्टोर गर्न अनिच्छुक प्रयोगकर्ताका लागि क्लाउड ब्याकअप सुविधा बन्द गर्ने विकल्प पनि छ । यसलाई डिसेबल गर्न प्रयोगकर्ताले आफ्नो विन्डोज पीसी वा ल्यापटपमा माइक्रोसफ्ट वर्ड खोली ‘File’ विकल्पमा क्लिक गर्नुपर्नेछ ।

त्यसपछि देखिने मेनुमा ‘Options’ मा गएर 'Save' ट्याबमा जानुहोस् । त्यहाँ ‘Create new files in the cloud automatically’ नामक विकल्पबाट टिक हटाउनुहोस् र ‘Save to Computer by Default’ विकल्पलाई इनेबल गर्नुहोस् ।

पहिलो विकल्प डिसेबल गर्दा वर्डले फाइलहरू क्लाउडमा सेभ गर्न रोक्नेछ भने दोस्रो विकल्पले प्रयोगकर्तालाई लोकल स्टोरेजमा आफूखुसी स्थान छनोट गर्न दिनेछ ।

यसै वर्षको सुरुमा माइक्रोसफ्टले आफ्नो प्रोडक्टिभिटी एप्सको सुइट माइक्रोसफ्ट अफिसको फ्री एड-सपोर्टेड भर्सन ल्याउने घोषणा गरेको थियो । 

नयाँ सुविधा वर्ड फर विन्डोजको भर्सन २५०९ (बिल्ड १९२२१.२००००) वा पछिल्लो संस्करण प्रयोग गर्ने प्रयोगकर्तालाई उपलब्ध हुने र निकट भविष्यमै एक्सेल तथा पावरपोइन्टमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

कम्पनीले वर्ड डकुमेन्टहरूलाई आफ्नो एआई च्याटबट कोपाइलट प्रयोग गरी सारांश (समरी) गर्ने क्षमता जस्ता नयाँ एआई-शक्तियुक्त सुविधा पनि अफिसमा थपिरहेको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ २१:४३