close

सबैभन्दा बढी लाइक पाउने शीर्ष १० पोस्टमा पर्‍यो टेलर स्विफ्टको इङ्गेजजमेन्ट पोस्ट

टेकपाना टेकपाना

भदौ १४, २०८२ १८:५६

सबैभन्दा बढी लाइक पाउने शीर्ष १० पोस्टमा पर्‍यो टेलर स्विफ्टको इङ्गेजजमेन्ट पोस्ट

काठमाडौँ । अमेरिकी पपगायिका टेलर स्विफ्टले सामाजिक सञ्जाल इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएकी छिन् । अमेरिकी फुटबल खेलाडी ट्राभिस केल्सीसँगको आफ्नो इङ्गेजजमेन्टको औपचारिक घोषणा गर्दै उनले मङ्गलबार राखेको पोस्ट सर्वाधिक लाइक पाउने विश्वका शीर्ष १० पोस्टभित्र परेको हो । 

यो सामग्री तयार पार्दासम्म स्विफ्टको पोस्टले तीन करोड ५१ लाख बढी लाइक पाइसकेको छ भने यो सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । यो सङ्ख्यासँगै उनले चर्चित र्‍यापर एक्सएक्सएक्स टेन्टासियोनको तीन करोड ४२ लाख लाइक पाएको पोस्टलाई पछि पारेकी हुन् ।

इन्स्टाग्राममा सर्वाधिक लाइक पाउने पोस्टको शीर्ष स्थानमा भने अर्जेन्टिनी फुटबलका स्टार फुटबलर लिओनल मेस्सीको दबदबा कायमै छ । उनले सन् २०२२ को विश्वकप जितेपछि ट्रफी उचालेको तस्बिरले सात करोड ४७ लाखभन्दा बढी लाइकका साथ पहिलो स्थान ओगटेको छ । दोस्रो स्थानमा विश्व कीर्तिमानकै लागि पोस्ट गरिएको एउटा अण्डाको फोटो छ । उक्त पोस्टले छ करोड छ लाखभन्दा बढी लाइक पाएको छ भने तेस्रो स्थानमा पनि मेस्सीले विश्वकप ट्रफीसँगै बेडमा खिचाएको तस्बिर (पाँच करोड ३७ लाख बढी लाइक) रहेको छ ।

यो सूचीमा चर्चित व्यक्तित्वका साथै केही भाइरल रिलले पनि स्थान बनाएका छन् । चौथो स्थानमा भारतीय प्रयोगकर्ता किशोर मण्डलले पोस्ट गरेको एक बालकले ‘जीने लगा हुँ’ गीत गाएको रिल छ । सो पोस्टमा चार करोड ९६ लाखभन्दा बढी लाइक छ । त्यसैगरी पाँचौं स्थानमा ‘इन्स्टा३६०’ अकाउन्टबाट पोस्ट गरिएको एउटी बालिकाले ३६० डिग्री क्यामेरा टाउकोमा राखेर दौडिएको भिडिओ छ । सो भिडिओले चार करोड ४८ लाख लाइक पाएको छ । आठौं स्थानमा पनि एक सानी बालिकाले ‘माई हार्ट विल गो अन’ गीत गाएको रिल छ, जसले तीन करोड ७१ लाख लाइक पाएको छ ।

सूचीको बाँकी स्थानमा पनि फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र मेस्सीकै वर्चस्व देखिन्छ । छैटौं स्थानमा रोनाल्डो र मेस्सीले लुइ भितनको विज्ञापनका लागि चेस खेलिरहेको तस्बिर छ । सो पोस्टले चार करोड १६ लाख लाइक पाएको छ । सातौंमा मेस्सीले प्लेनमा विश्वकप ट्रफीसँग खिचेको फोटो (चार करोड १२ लाख लाइक) छ भने नवौं स्थानमा रोनाल्डोले बरफिलो पानीमा पौडी खेलेको भिडिओ (तीन करोड ५७ लाख लाइक) रहेको छ ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ ३:२६