फोनपेको क्यूआर नेटवर्कमा जोडियो सिटीपे, रेमिट्यान्सदेखि किनमेलसम्म सजिलो हुने
भदौ १७, २०८२ १९:१८
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोनेपेले सिटीपेलाई आफ्नो इकोसिस्टममा दशौँ डिजिटल वालेटको रूपमा समावेश गरेको छ । यससँगै सिटीपे प्रयोगकर्ताले अब फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्यूआर नेटवर्कमार्फत भुक्तानी गर्न पाउने भएका छन् ।
फोनेपेको नेटवर्कमार्फत हाल देशभरका १७ लाखभन्दा बढी व्यापारी आउटलेटमा कारोबार गर्न सकिने व्यवस्था छ । हाल फोनेपेले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई जोडेको छ भने डिजिटल वालेट साझेदारको संख्यामा पनि वृद्धि भएको छ ।
सिटीपेको समावेशले वित्तीय समावेशीकरणलाई बलियो बनाउने र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने फोनपेको विश्वास छ । फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले प्रत्येक नयाँ इन्टिग्रेसनले नेटवर्कलाई समावेशी र उपयोगी बनाउने भन्दै यसलाई यात्राको महत्त्वपूर्ण चरणका रूपमा टिप्पणी गरे ।
त्यसैगरी, सिटीपेका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले साझेदारी प्रविधि मात्र नभई लाखौँ रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउन महत्त्वपूर्ण हुने उल्लेख गरे । उनले सिटीपे-फोनेपे सहकार्यले प्रयोगकर्ता र व्यापारीलाई सहज र सुरक्षित भुक्तानीको सुविधा दिने विश्वास व्यक्त गरे ।
यससँगै सिटीपेले विशेष पर्व अभियान पनि घोषणा गरेको छ । २०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म फोनेपे नेटवर्कमार्फत गरिने प्रत्येक क्यूआर कारोबारमा ग्राहकलाई भाग्यशाली चिट्ठामा सहभागी गराइनेछ । अभियान अवधिभर दुई विजेताले सामसङ टेलिभिजन जित्नेछन् । साथै, ५०० रुपैयाँभन्दा माथिका प्रत्येक क्यूआर कारोबारमा २० रिवार्ड पोइन्ट दिने व्यवस्था गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ १९:२७
