close

नेपालमा सर्भर राख्ने योजनाबाट पछि हट्यो प्रतिबन्धले तर्सिएको टिकटक, फेसबुकको लगानी पनि रोकियो

टेकपाना टेकपाना

भदौ १८, २०८२ २१:१०

नेपालमा सर्भर राख्ने योजनाबाट पछि हट्यो प्रतिबन्धले तर्सिएको टिकटक, फेसबुकको लगानी पनि रोकियो

काठमाडौँ । नौ महिनासम्म लगाइएको प्रतिबन्धबाट तर्सिएको टिकटक नेपालमा आफ्नो क्याश तथा सीडीएन सर्भर राख्ने योजनाबाट पछि हटेको पाइएको छ । नेपाल टेलिकम र वर्ल्डलिंकका अधिकारीहरूले एक वर्षअघि टिकटकमाथि लागेको प्रतिबन्धको असर अझै कायम रहेको पुष्टि गरेका हुन् । 

“टिकटकले स्पष्ट रूपमा नेपालमा लोकल क्याश दिन सक्दैनौँ भनिसकेको छ । उनीहरूले हाम्रो सरकारको नीति अस्थिर भएको कारण देखाउँदै हामीलाई लोकल क्याश सर्भर दिन अस्वीकार गर्दै आएको हो,” नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर रविन कासुलाले टेकपानासँग भने ।

सामाजिक सद्‍भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २७ कात्तिक २०८० को मन्त्रीपरिषद्‌ बैठकमार्फत टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको नौ महिनापछि ६ भदौ २०८१ मा टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय सरकारले गरेको थियो ।

तर टिकटकको प्रतिबन्ध हटाए पनि अहिलेसम्म लोकल क्याश सर्भर थप्न नसकिएको वरिष्ठ इन्जिनियर कासुलाको भनाइ छ । “टेलिकममा अहिले टिकटकको अन्तर्राष्ट्रिय ट्राफिक ४० देखि ५० जीबीपीएस पुगिसकेको छ । तर, हामीले त्यसलाई स्थानीय क्याशमार्फत व्यवस्थापन गर्न सकेका छैनौँ । टिकटकमा यसअघि लगाइएको प्रतिबन्धका कारण ठुलो रकम अहिले पनि ब्यान्डविथ आपूर्तिकर्तालाई तिर्नु परिरहेको छ,” उनले भने ।  

टेलिकमका अनुसार बन्द हुनुअघि टिकटकको ८० जीबीपीएसभन्दा बढी ब्यान्डविथ ट्राफिक स्थानीय क्याश (Local Cache) बाट सर्भ हुने गरेको थियो । बन्द गरेपछि उक्त ट्राफिक घटेर १० जीबीपीएसमा सीमित भयो । किनभने अरू प्लेटफर्महरू पनि टिकटकले प्रयोग गर्ने क्याश सर्भरबाटै सञ्चालित थिए । 

तर त्यसपछि प्रयोगकर्ताले भीपीएन र अरू डीएनएस (क्लाउडफ्लेयर, गुगललगायत) प्रयोग गरेर टिकटक चलाउन थाले । जसको असर टेलिकमले आयात गरिरहेको अन्तर्राष्ट्रिय ब्यान्डविथमा पर्‍यो । प्राविधिक रूपमा टिकटकलाई टेलिकम तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले डीएनएस स्तरबाट बन्द गरेका थिए । तर, भीपीएनको सहायताले अन्तर्राष्ट्रिय लिङ्कमार्फत टिकटकमा ट्राफिक गयो । जसका कारण पूर्ण रूपमा नेपालमा टिकटक रोक्न सकेनन् र अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढ्न पुग्यो ।

नेटवर्क अपरेटर्स ग्रुपका अध्यक्ष तथा वर्ल्डलिंकका ग्रुप सीटीओ समित जनले प्रतिबन्धअघि टिकटकले इन्टरनेट सेवा प्रदायकहरूलाई नि:शुल्क रूपमा क्याश सर्भर प्रदान गर्दै आएको बताए । तर प्रतिबन्धपछि भने त्यस्तो सर्भर टिकटकले दिनै छोडेको उनको भनाइ छ । उनका अनुसार टिकटकले नेपालमा दुई प्रकारका क्याश सर्भर राखेको थियो । एउटा उसको आफ्नै सर्भर थियो भने अर्को अकमाइ भन्ने सीडीएन प्रयोग गर्थ्यो । जनले टेकपानासँग भने, “अब टिकटक र अकामाई दुवैले उक्त सर्भर नेपाल पठाउन छोडिसकेका छन् । करोडौँ डलर लगानी गरेर उनीहरूले त्यस्ता सर्भर नेपाल पठाउँथे । नेपाल सरकारलाई कति बेला मुड चल्ने हो र बन्द गराउने हो भन्ने डरका कारण उनीहरू आफ्नो लगानी जोखिममा पार्न चाहिरहेका छैनन् ।” 

“उनीहरू अझै पनि पर्ख र हेरको अवस्थामा छन् । टिकटक बन्द भएर खुलेको पनि एक वर्ष भइसक्यो । तैपनि उनीहरूले टेलिकम अपरेटर वा इन्टरनेट सेवा प्रदायकलाई आफ्नो पूर्वाधार उपलब्ध गराएका छैनन् । जसका कारण आज पनि टिकटकको ट्राफिक अन्तर्राष्ट्रिय बाटो भएरै आइरहेको छ ।”

हाल टिकटकका लागि ४०० देखि ५०० जीबीपीएस ट्राफिक अन्तर्राष्ट्रिय ब्यान्डविथबाट नेपाल आइरहेको छ । टिकटक र अकामाईले क्याश सर्भर राखिदिएको भए त्यसमध्ये ठुलो ब्यान्डविथ तथा त्यसमा हुने करोडौँ खर्च बचत हुने जनले बताए । “तर टिकटक त्यसका लागि तयार छैन,” उनले भने । 

पछिल्लो समय गुगल, माइक्रोसफ्ट, अमेजन, मेटालगायतका कम्पनीहरूको ट्राफिक पनि नेपालमा निरन्तर बढिरहेको छ । सामाजिक सञ्जालमा निर्भरता बढ्दै गएकाले अब आफ्ना पूर्वाधार खडा गर्ने समय आएको भनेर उनीहरूले आफूहरूसँग छलफलमा रहेको जनले सुनाए । “सन् २०२५ भित्र त्यसको काम अगाडि बढाउने गरी कुराकानी भइरहेको छ । तर, सरकारले सामाजिक सञ्जाल नै बन्द गर्छु भनेर पटक पटक सूचना निकालेपछि उनीहरू हच्किन थालेका छन् । त्यस्ता कम्पनीहरूलाई निरुत्साहित गर्ने काम यो सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयबाट भइरहेको छ,” उनले भने ।  

उनका अनुसार फेसबुकले अर्को वर्ष सन् २०२६ मा नेपालमा आफ्नो पूर्वाधार खडा गर्ने योजना बनाएको थियो । लगभग टुङ्गो लागिसकेको अवस्थामा सरकारले सूचीकरण नभए प्रतिबन्ध लगाउँछु भन्ने निर्णय गर्दा कम्पनी पछि हटेको जनले बताए । “ यसले नेपालको डिजिटल इकोसिस्टम निर्माणमा सहयोग पुग्ने भन्दा पनि झन् पछाडि धकेल्ने जोखिम बढ्दै गएको छ,” उनले भने ।

पछिल्लो अध्यावधिक: भदौ १८, २०८२ २१:२७