close

२६ ओटा सामाजिक सञ्जाल बन्द गर्न टेलिकम र इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

टेकपाना टेकपाना

भदौ १९, २०८२ १७:२४

२६ ओटा सामाजिक सञ्जाल बन्द गर्न टेलिकम र इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले २६ ओटा सामाजिक सञ्जाल बन्द गर्न मोबाइल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । 

बिहीबार दिउँसो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

त्यसपछि मन्त्रालयले निर्णयको माइन्युटसहित २६ ओटा सामाजिक सञ्जाल बन्द गर्न प्राधिकरणलाई पत्र पठाएको थियो । त्यसपछि प्राधिकरणले मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकलाई ती सामाजिक सञ्जाल नेपालभित्र निष्क्रिय गराउन निर्देशन दिएको हो ।

सरकारले पछिल्लोपटक दिएको सात दिनको म्याद बुधबार राति १२ बजेसम्म पाँच ओटा सामाजिक सञ्जाल मात्रै सूचीकरण भएका थिए । हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ मात्र सूचीकृत भएका छन् । टेलिग्राम र ग्लोबल डाइरी सूचीकरण प्रक्रियामा रहेका छन्, जसमा टेलिग्रामले प्रतिबन्ध लगाइएपछि मात्रै सूचीकरणका लागि आवेदन दिएको थियो ।

सञ्चार मन्त्रालयको प्रस्तावमा ९ भदौको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जाललाई सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यसपछि मन्त्रालयले १२ भदौमा सूचना जारी गर्दै सूचीकरण नभएका सामाजिक सञ्जाललाई थप सात दिनको म्याद दिएको थियो ।

तोकेको अवधिमा सूचीकरण नभएका वा सम्पर्कमा नआएका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ । साथै, सूचीकरण प्रक्रिया पूरा गर्ने सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरिने मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १७:३५