close

प्रतिबन्धमा परेपछि हाम्रो पात्रोले सूचीकरण गर्ने भन्दै सञ्चार मन्त्रालयमा दर्ता गरायो निवेदन

टेकपाना टेकपाना

भदौ १९, २०८२ १८:३५

प्रतिबन्धमा परेपछि हाम्रो पात्रोले सूचीकरण गर्ने भन्दै सञ्चार मन्त्रालयमा दर्ता गरायो निवेदन

काठमाडौँ । प्रतिबन्धमा परेपछि हाम्रो पात्रोले सूचीकरण गर्न भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गराएको छ ।

बिहीबार मात्रै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले हाम्रो पात्रोसहित २६ ओटा सामाजिक सञ्जाल बन्द गराउने निर्णय लिएको थियो । प्रतिबन्धको सूचीमा परेपछि हाम्रो पात्रोले केही काजगातसहित सूचीकरणका लागि निवेदन दर्ता गराएको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए ।

“हाम्रो पात्रोले पनि सूचीकरणका लागि सञ्चार मन्त्रालयमा निवेदन दर्ता गराएको छ । तर, सूचीकरणका लागि आवश्यक पर्ने सबै कागजात भने बुझाएको छैन । हामीले ती कागजात पनि बुझाउन भनेका छौँ । सूचीकरणको प्रक्रिया पूरा हुनासाथ पुन: सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई लेखि पठाउँछौँ,” ठाकुरले टेकपानासँग भने ।

यसैबिच, हाम्रो पात्रोकी फिनटेक निर्देशक सुदिना गौतमले हाम्रो पात्रो सन् २०१६ देखि नेपालमा आधिकारिक रूपमा दर्ता भएको बताएकी छिन् । तत्कालीन सरकारी नामकरणसम्बन्धी प्रतिबन्धका कारण दर्ता गरिएको कम्पनीको नाम 'हाम्रो पात्रो' भन्दा फरक रहेको उनको तर्क छ ।

“हाम्रो पात्रो एक प्लेटफर्मको रूपमा पूर्ण रूपमा सक्रिय छ र सक्रिय नै रहनेछ । नेपाल सरकारले हाम्रो पात्रोलाई प्रतिबन्ध लगाएको छैन ।” उनले हाम्रो पात्रोले नेपालभित्र र बाहिर रहेका लाखौं नेपालीहरूलाई सूचना, सेवा र सम्पर्कका लागि एक विश्वसनीय डिजिटल प्लेटफर्म प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको बताउँदै प्रयोगकर्ताहरूको निरन्तर विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गरेकी छिन् ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १९:७