नेपालमा फेसबुक-एक्स-युट्युब प्रतिबन्ध हुँदा ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ लाई छुट
भदौ १९, २०८२ २२:३५
काठमाडौँ । सरकारले बिहीबार फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप, स्न्यापच्याटसहित २६ ओटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपनि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको स्वामित्वमा रहेको ‘ट्रुथ सोसल’ भने नेपालमा निर्वाध रूपमा सञ्चालन भइरहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको बैठकले सूचीकरणमा सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि ठुला चर्चित प्लेटफर्मदेखि नामै नसुनिएका सामाजिक सञ्जालसम्म बन्द हुने भएका छन् । तर ट्रम्पकै नेतृत्वमा सुरु भएको माइक्रो ब्लगिङ प्लेटफर्म ट्रुथ सोसललाई सरकारले अहिलेसम्म नियमनको दायरामा ल्याएको छैन ।
नेपालमा पनि गत वर्ष असारदेखि ट्रुथ सोसल उपलब्ध भएको हो । मन्त्रालय स्रोतका अनुसार यस एप सम्बन्धमा बैठकमा कुनै छलफल नै भएको थिएन । न त एपले सूचीकरणका लागि निवेदन नै दिएको छ ।
सन् २०२१ मा अमेरिकी संसद क्यापिटोल हिलमा भएको हुलदङ्गापछि फेसबुक, ट्वीटर र युट्युबले ट्रम्पलाई प्रतिबन्ध लगाएपछि उनले आफ्नै नेतृत्वमा ट्रुथ सोसल सुरु गरेका थिए । सुरुमा अमेरिका-युरोपमा उपलब्ध यो प्लेटफर्म पछिल्लो समय नेपालमा समेत डाउनलोड गर्न सकिने बनेको हो ।
ट्वीटर (अहिलेको एक्स) को प्रतिस्पर्धीका रूपमा प्रचारित ट्रुथ सोसलमा पोस्टलाई ‘ट्रुथ’, नोटिफिकेसनलाई ‘अलर्ट’ र प्रतिक्रियालाई ‘रिप्लाई’ भनिन्छ । प्रयोगकर्ताले अकाउन्ट बनाउन सहज हुने यो एपमा प्रारम्भमै डोनल्ड ट्रम्पकै अकाउन्ट फलो गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ २२:४७
