close

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तुरुन्त फिर्ता लिन सीपीजेको नेपाल सरकारलाई आग्रह

टेकपाना टेकपाना

भदौ २०, २०८२ २२:२०

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तुरुन्त फिर्ता लिन सीपीजेको नेपाल सरकारलाई आग्रह

काठमाडौँ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेको छ । बिहीबार एक ब्लगमार्फत संस्थाले उक्त प्रतिबन्धले पत्रकारको काम र नागरिकको सूचनाको अधिकारमाथि गम्भीर बाधा पुर्‍याएको भन्दै आपत्ति जनाएको हो ।

सीपीजेका क्षेत्रीय निर्देशक बेह लि यीले भने, “सामाजिक सञ्जालमाथिको नेपालको व्यापक प्रतिबन्धले प्रेस स्वतन्त्रताका लागि खतरनाक नजिर स्थापित गरेको छ ।”

उनले पत्रकारका लागि महत्त्वपूर्ण अनलाइन समाचार प्लेटफर्म बन्द गर्दा रिपोर्टिङ र सूचनामाथिको जनताको अधिकार कमजोर हुने चेतावनी दिएका छन् । “सरकारले यो आदेश तुरुन्त फिर्ता लिनुपर्छ र प्रेस स्वतन्त्रताको अभ्यासका लागि अत्यावश्यक साधनका रूपमा रहेका सामाजिक सञ्जाल प्लेटफर्ममा पहुँच पुनर्स्थापित गर्नुपर्छ,” उनले थप जोड दिए ।

गत बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, एक्स लगायतका २६ ओटा सामाजिक सञ्जाल तथा स्ट्रिमिङ प्लेटफर्मलाई ब्लक गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुरूप प्राधिकरणले टेलिकम तथा इन्टरनेट सेवा प्रदायकहरूलाई ती प्लेटफर्महरू ब्लक गर्न निर्देशन जारी गरेको छ । प्रतिबन्धको सूचीमा रहेका २६ ओटा सामाजिक सञ्जालमध्ये 'हाम्रो पात्रो' ले भने बिहीबार नै दर्ता प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ २२:२०