जेन-जी आन्दोलनमा गएका छोराछोरीको खबर नआएपछि अभिभावकको आईएसपीलाई सामाजिक सञ्जाल खोलिदिन बिन्ती
भदौ २३, २०८२ १८:०
एआई सिर्जित तस्बिर
काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूका ग्राहक सेन्टरमा फोन गरी सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइदिन माग राख्ने क्रम बढेको छ । सोमबार काठमाडौँ सहित देशका विभिन्न स्थानमा आयोजित जेन-जी आन्दोलनका क्रममा राज्यको दमन भएसँगै छोराछोरीको हालखबर बुझ्न नपाएका अभिभावकले यस्तो अनुरोध गर्न थालेका हुन् ।
एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकले टेकपानासँगको कुराकानीमा जेन-जी र उनीहरूका परिवार तथा आफन्तको फोनले आफ्नो ग्राहक सेवा केेन्द्र निकै व्यस्त रहेको सुनाए । "यस्तो बर्बर दमन र हत्या भइरहेको बेला पनि सम्पर्कमा रहन गाह्रो भएको भन्दै उहाँहरूले लगातार फेसबुक, मेसेन्जर, ह्वाट्सएप खुलाइ दिन अनुरोध गरी रहनु भएको छ," ती सञ्चालकले भने, "कम्पनी भित्रै कयौँ कर्मचारी जेन-जी पुस्ताका छन्, सामाजिक सञ्जाल खोल्नुपर्नेमा उनीहरूबाट पनि आन्तरिक दबाब छ ।"
केही सेवा प्रदायकहरूले प्रयोगकर्ताहरूको दबाब अत्यधिक आएपछि र इन्टरनेट ट्राफिक नै ठप्प हुने जोखिम निम्तिएपछि आंशिक तथा अघोषित रूपमा प्रतिबन्ध खुकुलो बनाएका छन् । यद्यपि मोबाइल सेवा प्रदायकहरूको नेटवर्कमा भने यथावत् रूपमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायम छ ।
यति मात्र होइन, जेन-जी तथा जेन-जीको आन्दोलनमा समर्थन जनाउनेहरूले समेत विभिन्न सेवा प्रदायकलाई ईमेल तथा फोन मार्फत सामाजिक सञ्जाल खोल्न दबाब बढाइरहेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १८:०
