जेन-जी आन्दोलन चर्किएपछि सर्वोच्च अदालत बार एशोसिएशनको मागः सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता लेऊ
भदौ २३, २०८२ १९:२
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध सम्बन्धी सरकारी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । सोमबार जेन-जीले सामाजिक सञ्जाल प्रतिबन्ध, अनियमितता र भष्ट्राचार विरुद्ध गरेको प्रदर्शनमा शक्ति प्रदर्शन भएको भन्दै प्रतिबन्ध सम्बन्धी निर्णय फिर्ता लिन भनेको हो ।
एशोसिएशनले भनेको छ, “मुलुकभर प्रारम्भ गरेको विरोध प्रदर्शन तथा आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्ति प्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लागि सयौँ प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गाएको तर्फ यस बारको गम्भीर ध्यानाकर्षण भाएको छ । यी घटनाने राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको छ ।”
विरोध गर्नु नागरिकको सार्वभौम अधिकार रहेको र जेनजीको विरोध प्रदर्शनमाथि निर्मम दमन गरेको एशोसिएशनले जनाएको छ । नागरिकमा भएको सार्वभौमिकता राज्य सत्ताबाट अपहरित भएको बताउँदै एशोसिएशनले सरकारको दमनकारी नीति र कार्यको भर्त्सना गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १९:९
