close

जेनजी आन्दोलनबिच आईस्पानको विज्ञप्ति, इन्टरनेट ‘जीवन रेखा’ हो, मनपरी नियन्त्रण नहोस्

टेकपाना टेकपाना

भदौ २४, २०८२ १४:३८

जेनजी आन्दोलनबिच आईस्पानको विज्ञप्ति, इन्टरनेट ‘जीवन रेखा’ हो, मनपरी नियन्त्रण नहोस्

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले देशभर चर्किएको जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्धको प्रदर्शन र सामाजिक सञ्जाल बन्द गरिएका घटनामा ज्यान गुमाउनेका परिवार तथा घाइतेप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै आईस्पानले इन्टरनेट कनेक्टिभिटीलाई ‘जीवन रेखा’ को रूपमा चित्रण गर्दै यसलाई मनपरी ढंगले नियन्त्रण गर्नु नहुने बताएको छ । संघले इन्टरनेट सेवा प्रदायकहरूलाई केवल कार्यान्वयनकर्ताको रूपमा व्यवहार गर्न नहुने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपाललाई जोडी राख्नु, आफ्ना ग्राहकहरूको विश्वासको रक्षा गर्नु र इन्टरनेटमा आधारित अधिकार तथा जीविकोपार्जन सुरक्षित राख्नु नै हाम्रो मूल कर्तव्य हो ।”

सामाजिक सञ्जालमाथि लगाइएको पूर्ण प्रतिबन्ध संवाद, दूरदर्शिता वा पारदर्शिता बिना लिइएको निर्णय भएको आईस्पानको ठहर छ । संघका अनुसार यस्ता कदमले व्यवसायमा अवरोध पुर्‍याउनुका साथै नागरिकको विश्वास घटाएको र दुःखद रूपमा ज्यान जाने अवस्थासमेत सिर्जना गरेको छ ।

डिजिटल नियमनका लागि कठोर कदम नचलाउन र अन्धाधुन्ध बन्द नगर्न पटकपटक सल्लाह दिँदादिँदै सरकारको बेवास्ताप्रति आईस्पानले दुःख व्यक्त गरेको छ । संघले संवैधानिक अधिकार, डिजिटल स्वतन्त्रता र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने निर्देशनहरूको साधन इन्टरनेट सेवा प्रदायकहरू बन्न नसक्ने अडान लिएको छ ।

भविष्यमा ल्याइने नीतिहरू लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाने र सरोकारवालाको सक्रिय संलग्नता रहने खालका हुनुपर्नेमा आईस्पानले जोड दिएको छ । गलत सूचना वा हानिकारक सामग्रीलाई नियन्त्रण गर्दा सम्पूर्ण प्लेटफर्म बन्द नगरी लक्षित र समानुपातिक नियमन गर्नुपर्ने संघको माग छ ।

आईस्पानले नेपाल सरकारलाई पूर्ण प्रतिबन्ध अन्त्य गर्न, डिजिटल नीति निर्माणमा बहु–सरोकारवाला परामर्श सुनिश्चित गर्न र जनताको अधिकार तथा स्वतन्त्रताको सम्मान गर्दै नेपालको डिजिटल भविष्य सुरक्षित गर्न आग्रह गरेको छ । अध्यक्ष सुधीर पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले नेपाललाई जिम्मेवार, भरपर्दो र निष्पक्ष रूपमा जोडिराख्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ १४:३८