‘असुरक्षा बढेपछि कानुनी प्रक्रिया पूरा गरेर कारागारबाट निस्किएँ, कुनै राजनीतिक लाभ लिन्नँ’
भदौ २४, २०८२ २३:३३
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले कारागारबाट आफ्नो रिहाइ कानुनी आधारमै भएको बताएका छन् । सोमबार साँझ भिडियो सन्देश जारी गर्दै पूर्व गृहमन्त्री समेत रहेका उनले कारागार प्रशासनले असुरक्षाको कारण देखाएर बाहिरिन अनुरोध गरे पनि आफूले कानुनी निर्णयपछि मात्रै कारागार छाडेको बताएका हुन् ।
उनका अनुसार गृह सचिवस्तरीय निर्णय र लिखित आदेश प्राप्त भएपछि मात्र कारागार प्रशासनले उनलाई बाहिर ल्याएको हो । उनले सो आदेशको प्रतिलिपि पनि सार्वजनिक गरेका छन् ।
“म कुनै पनि किसिमको राजनीतिक लाभ वा लेनदेनका कारण निस्किएको होइन,” उनले भने, “कानुनको परिधिभित्र बसेर मात्रै रिहा भएको हुँ ।”
सहकारी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेले कारागारमा आगलागी र सुरक्षाजन्य खतरा उत्पन्न भएपछि प्रशासनले कानुनी निर्णयमार्फत रिहा गरेको दाबी गरे । उनले आन्दोलनरत जेनेरेसन-जीसँग ऐक्यबद्धता व्यक्त गर्दै शान्तिपूर्ण र संयमित रूपमा अघि बढ्न आग्रह गरे ।
“देशको संरचना भत्काएर होइन, पुनर्निर्माण गरेर अघि बढ्नुपर्छ,” उनले भने, “राष्ट्रको सम्पत्तिमा क्षति पुर्याउने काम नगरी आन्दोलनलाई सफल बनाउन आवश्यक छ ।”
लामिछानेले आफू नागरिक सर्वोच्चताको पक्षमा सधैँ रहने भन्दै नागरिक सरकार गठनको आवश्यकतामाथि पनि जोड दिए ।
पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ २३:४०
