काठमाडौँ । भ्रष्टाचार र बेथिति विरुद्ध सडकमा उत्रिएको युवा पुस्ता अर्थात् ‘जेन-जी’ आफ्नो आन्दोलनको भावी दिशा र नेतृत्वबारे भर्चुअल छलफलमा जुटेको छ । सोमबार राजधानी र मंगलबार देशव्यापी रूपमा भएको प्रदर्शनको समीक्षा गर्दै आगामी रणनीति तय गर्न उनीहरूले बुधबार दिउँसोदेखि भर्चुअल संवाद थालेका हुन् ।
डिस्कर्ड नामक सामाजिक सञ्जालको ‘youth against corruption’ च्यानलमा सुरु भएको छलफलमा करिब ४५०० युवा सहभागी छन् । स्वःस्फूर्त रूपमा सडकमा आएका युवाहरूको कुनै एक निश्चित नेता वा संगठन नभएकाले अब कसलाई प्रतिनिधि वा वार्ताकार बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।
छलफलमा सहभागीले आन्दोलनलाई कसरी थप व्यवस्थित र प्रभावकारी बनाउने र सरकारसँग सम्भावित वार्ताका लागि को अघि सर्ने भन्ने विषयमा गम्भीर बहस गरिरहेका छन् । नेतृत्वविहीन आन्दोलनको आगामी स्वरूप कस्तो हुने र यसको प्रतिनिधित्व कसले गर्ने भन्ने द्विविधाले युवाहरूलाई एकै ठाउँमा ल्याएको हो ।
पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ १७:२६
