संविधान-संसद् भङ्ग गर्दा रिक्तताले देशै नरहने चिन्ता व्यक्त गर्दै सीके राउतले दिए यस्ता सुझाव
भदौ २६, २०८२ ११:१६
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले संविधान चलाउने र संसद् विघटन गर्दा रिक्तता र वैधताको खतरा उत्पन्न भई देश नै नरहन सक्ने चिन्ता व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत आन्दोलनकारी जेन-जीलाई सम्बोधन गर्दै सांसद पदबाट राजीनामा दिइसकेका राउतले सुझबुझपूर्ण निर्णयका लागि आह्वान गरेका हुन् ।
अहिलेको सङ्क्रमणकालीन स्थितिमा संशोधनको आवश्यकता रहे पनि संविधानलाई नचलाउन आग्रह गर्दै उनले त्यो कार्य निर्वाचन पछि गर्दा हुने बताए । उनले भने, "अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसदलाई पनि भङ्ग गर्नु हुँदैन, अन्यथा देशमा रिक्तता निम्तिन्छ । दशकौँको आन्दोलन र बलिदानीपछि सम्भव भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तो सुकै परिस्थितिमा हामी रक्षा गर्न तैयार रहनु पर्छ, केही पात्रहरूले जतिसुकै दुष्प्रचार गरे पनि यो देशको अस्तित्वको रक्षाको लागि सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्नै पर्छ ।"
"यदि तपाईँहरूले कसैको उक्साहटमा संविधान र संसदलाई भङ्ग गर्नुभयो भने अर्को १० वर्ष तपाईँहरूलाई संविधान बनाउनका लागि नै अल्झाइ राख्छन्, काम गर्ने वातावरण नै बन्दैन । त्यो 'प्यानडोराज बक्स' हो । त्यसैले अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसदलाई नै कायम रहन दिई निर्वाचन गराउने तिर लाग्नु पर्दछ ।"
६ महिनाभित्र निर्वाचन गराउन सकिए नयाँ प्रतिनिधि सभा तयार हुने भएकाले अहिले नै रिक्तता सृजना नगर्न उनको आग्रह छ । राउतले भनेका छन्, "तपाईँहरूले देशको निकासको लागि गरी राखेको पहलको समयमा केही कुराहरू याद राख्नु पर्ने हुन्छ । देश केवल डिस्कोर्ड ग्रुपको एउटा निश्चित वर्ग, जाति र समूहको मात्रै होइन, तपाईँहरूले गर्ने हरेक निर्णय मेचीदेखि महाकाली, हिमाल पहाडदेखि तराईँ मधेशसम्म, कर्णाली र सुदूरपश्चिमदेखि मधेश र लुम्बिनीसम्म, खस आर्यदेखि मधेसी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, महिला, पीछडा वर्ग सहित सीमान्तकृत वर्गसम्म सबैले अपनत्व लिने गरी हुनु पर्दछ । सबैको अधिकार, आत्मसम्मान, आकाङ्क्षा र आवाजलाई सम्बोधन गर्ने खालको हुनु पर्दछ ।"
जेन जी पुस्ताले आन्दोलन गरे पनि पर्दा पछाडि यसै अवसरलाई दुरुपयोग गर्न धेरै कुराहरू भइ राखेको उल्लेख गर्दै उनले देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुग्ने र देश नै नरहने चिन्ता व्यक्त गरेका छन् ।
"राज्यका महत्वपूर्ण सबै अङ्गहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक-एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद पनि भङ्ग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उभ्याएर देश अरूकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौँ," राउतले भनेका छन् । राउतले जेन जी पुस्तालाई समस्या सधानका लागि केही यस्ता सुझावहरू समेत दिएका छन्;
१. कानुनी राज्य (ल एन्ड अर्डर) पूर्णतः स्थापित गर्नु पर्ने । अस्थिरता, त्रास र डरको माहौल हुँदा देशको राजधानीको कुना कुनामा मात्रै होइन पूरै देशको कुना कुनामा पनि सबैलाई सुरक्षाको प्रत्याभूति गराउने ।
२. नेसनल टास्क फोर्स (NTF) गठन गर्ने र हरेक परिवारबाट एउटा स्वयंसेवक दिनै पर्ने गरी ड्राफ्टिङ गर्ने र राष्ट्रियदेखि टोलस्तरसम्म पुनः र्निमाण, विकास तथा सुशासनका लागि युद्धस्तरमा खटाउने ।
३. ट्राइब्युनल गठन गर्ने र आन्दोलनमा भएको जनधनको क्षति, हिंसा र घुसपैठ आदिको छानबिन गर्ने, विगतका भ्रष्टाचारहरूको छानबिन गर्ने, र भ्रष्टाचार गरेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने । सेट डेट तोकेर त्यसपछाडि भ्रष्टाचार गरे 'जिरो टोलेरेन्स' को नीति लिई कडा कारबाही गर्ने ।
४. विश्व समुदाय, दातृ-संस्था तथा बहुपक्षीय सङ्गठनहरूको भेला गर्ने र विकास तथा पुनः र्निमाणको लागि सहयोग र सहकार्य गर्न अपिल गर्ने, गुमेको विश्वासलाई पुनः स्थापित गर्न राज्यले उत्तरदायित्व लिने गरी सबैको लगानी सुरक्षित रहने सुनिश्चितता गर्ने र लगानी आकर्षित गर्ने । ५. युद्ध स्तरमा टास्क फोर्स र स्वयंसेवक परिचालित भएर पुनः र्निमाण र विकासको कार्य थाल्ने ।
६. उद्योग र रोजगारीको लागि लाग्ने ताकि कतै बेरोजगारी नै नरहोस् ।
७. हुनसक्छ भने दश वर्षसम्म सबै सम्पत्ति राष्ट्रियकरण गर्ने ।
आत्तिनु पर्दैन दश वर्ष पछि फिर्ता पाउने गरी राज्यलाई दश वर्षसम्म नागरिकले आफ्नो घरजग्गा लिजमा दिएको जस्तो र पैसा पनि आन्तरिक ऋण दिएको जस्तो र दश वर्षसम्म राज्यले नागरिकको पूर्ण अभिभावकत्व लिने । नागरिकले खाना कसरी खाने, के लगाउने, कसरी पढाउने, कसरी उपचार गर्ने आदिको कुनै चिन्ता नै नलिनु परोस् र पूर्ण रूपले देशको विकास र निर्माणका लागि युद्ध स्तरमा खट्न सकोस् ।
पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ ११:१६
