close

शक्तिशाली ब्याट्री र क्यामेरा भएको आईफोन १७ प्रो र १७ प्रो म्याक्स, स्टोरेज २ टीबीसम्म

टेकपाना टेकपाना

भदौ २९, २०८२ ११:९

शक्तिशाली ब्याट्री र क्यामेरा भएको आईफोन १७ प्रो र १७ प्रो म्याक्स, स्टोरेज २ टीबीसम्म

काठमाडौँ । एप्पलले हालै सार्वजनिक गरेको आईफोन १७ प्रो र १७ प्रो म्याक्स मोडलहरूलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र एड्भान्स प्रो मोडल भनिएको छ । जसलाई ए १९ प्रो चिप समावेश गरी पूरै नयाँ डिजाइनमा बनाइएको छ । आईफोन १७ प्रोको मूल्य १०९९ अमेरिकी डलरबाट र १७ प्रो म्याक्सको मूल्य १,१९९ अमेरिकी डलरबाट सुरु हुन्छ ।

यी मोडलहरू ६.३ इन्च र ६.९ इन्च आकारमा उपलब्ध छन् । यिनमा सुपर रेटिना एक्सडीआर डिस्प्ले, प्रोमोसन १२० हर्जसम्म, अल्वेज-अन डिस्प्ले र ३,००० निट्स पिक आउटडोर ब्राइटनेस रहेको छ ।

यी आईफोन ब्रश्ड आल्मुनियम युनिबडी डिजाइन छ, जसले पर्फर्मेन्सलाई उच्चतम् स्तरमा लैजान्छ र ब्याट्री लाइफमा पनि ठुलो सुधार ल्याउँछ । यसमा तातो कम गर्न एप्पलले नै डिजाइन गरेको भेपर च्याम्बर कुलिङ सिस्टम समावेश छ । अगाडिको भाग सिरामिक शिल्ड २ द्वारा सुरक्षित छ, जसले ३x राम्रो स्क्र्याच प्रतिरोध प्रदान गर्दछ र पहिलो पटक फोनको पछाडिको भागमा पनि सिरामिक शिल्ड प्रयोग गरिएको छ । जसले अघिल्लो मोडलहरूको तुलनामा ४ गुणा राम्रो क्र्याक प्रतिरोध गर्नसक्ने बनाउँछ । यी मोडल डीप ब्लु, कस्मिक अरेन्ज र सिल्भर गरी तीन आकर्षक फिनिशमा उपलब्ध छन् ।

प्रोसेसरको कुरा गर्नुपर्दा आईफोन १७ प्रो र प्रो म्याक्समा ए १९ प्रो चिप प्रयोग गरिएको छ । जुन एप्पलको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र कुशल आईफोन चिप हो । यो भेपर च्याम्बरसँग जोडिँदा अघिल्लो पुस्ताभन्दा ४० प्रतिशतसम्म राम्रो सस्टेन्ड प्रदर्शन प्रदान गर्न सक्षम छ । यसमा ६ कोर सीपीयू रहेको छ, जुन कुनै पनि स्मार्टफोनभन्दा फास्ट रहेको दाबी छ । ६-कोर जीपीयू (न्युरल एक्सिलेरेटर सहित) र १६-कोर न्युरल इन्जिन छ । यसमा १२ जीबी र्‍याम रहेको छ ।

प्रो मोडलहरूमा एप्पलको अहिलेसम्मकै उत्कृष्ट क्यामेरा सिस्टम छ, जसमा तीन ओटा ४८ एमपी फ्युजन क्यामेरा (मेन, अल्ट्रा वाइड र नयाँ टेलिफोटो) छन् । नयाँ ४८ एमपी टेलिफोटो क्यामेरामा नेक्स्ट-जेनेरेसन टेट्राप्रिज्म डिजाइन छ, जसले ८x अप्टिकल जुम (२००mm) र ४x अप्टिकल जुम (१००mm) प्रदान गर्दछ । यसमा ५६% ठुलो सेन्सर छ, जसले कम प्रकाशमा पनि राम्रो स्पष्टता दिन्छ ।

डिजिटल जुम ४० एक्ससम्म बढाइएको छ । आईफोनमा १८ एमपी सेन्टर स्टेज फ्रन्ट क्यामेरा पनि समावेश छ, जसले बेस मोडलका सबै सुविधाहरू प्रदान गर्दछ । प्रो मोडलहरूमा प्रोरेस रअ, एप्पल लग २ र जेनलक (स्मार्टफोनका लागि पहिलो) जस्ता इन्डस्ट्री-लिडिङ भिडिओ फिचरको पनि सपोर्ट छ । यी फोनमा फोरके १२० एफपीएस (fps) मा भिडिओ रेकर्ड गर्न सकिन्छ।

आईफोन १७ प्रो म्याक्समा आईफोनको अहिलेसम्मकै सबैभन्दा ठुलो ब्याट्री छ । प्रो मोडलले ३३ घण्टा र प्रो म्याक्सले ३९ घण्टासम्म भिडिओ प्लेब्याक दिन सक्छ ।

आईफोन १७ प्रो २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेज क्षमतामा उपलब्ध छ । जबकि आईफोन १७ प्रो म्याक्स २५६ जीबी, ५१२ जीबी १ टीबी र पहिलो पटक २ टीबी स्टोरेज क्षमता पाउन सकिन्छ । यी मोडलहरूमा यूएसबी-सी पोर्ट छ, जसले यूएसबी ३ स्पिडलाई सपोर्ट गर्छ । केही देशहरूमा ईसिम मात्र भएका मोडलहरू पनि उपलब्ध हुनेछन्, जसले ब्याट्री लाइफमा थप २ घण्टा सुधार गर्ने बताइएको छ ।

सबै आईफोन १७ सिरिजका मोडलहरूमा आईओएस २६ र नयाँ एप्पल इन्टेलिजेन्स क्षमताहरू समावेश छन् । आईओएस २६ ले लिक्विड ग्लास डिजाइनका साथै लाइभ ट्रान्सलेसन, भिजुअल इन्टेलिजेन्स र अफलाइन एआई जस्ता सुविधाहरू प्रदान गर्दछ । कल र मेसेजका लागि नयाँ स्क्रिनिङ टुलहरू पनि दिइएका छन् । कारप्ले, एप्पल म्युजिक, प्याप्स, वालेट र नयाँ एप्पल गेम्स एपमा पनि सुधारहरू गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ ११:९