काठमाडौँ । ९ सेप्टेम्बर, २०२५ मा एप्पलले आफ्नो बहु प्रतीक्षित आईफोन १७ सिरिजसँगै आईफोन एयर सार्वजनिक गरेको छ । यो आईफोन १६ प्लस मोडललाई प्रतिस्थापन गर्दै आएको एप्पलको अहिलेसम्मकै सबैभन्दा पातलो फोन हो ।
यो फोनको मोटाइ ५.६ एमएम मात्र छ । यसको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ । यसमा ६.५ इन्चको प्रोमोसन डिस्प्ले र बाहिरी प्रकाशमा ३,००० निट्स पिक ब्राइटनेस छ ।
डिजाइनको कुरा गर्नुपर्दा आईफोन एयरमा ८० प्रतिशत पुन: प्रयोग गरिएको टाइटेनियमबाट बनेको फ्रेम र पछाडि ४ गुणा बढी क्र्याक प्रतिरोधी सिरामिक शिल्ड राखिएको छ । यसको क्यामेरा सिस्टम र अधिकांश आन्तरिक सर्किटरीलाई फोनको पातलो डिजाइनमा समाहित गर्न प्लेटोको प्रयोग गरिएको छ, जसले कार्यसम्पादनलाई अधिकतम बनाउँछ र उच्च घनत्वको ब्याट्रीका लागि ठाउँ बनाउँछ । यो स्काई ब्लु, लाइट गोल्ड, क्लाउड ह्वाइट र स्पेस ब्ल्याक रङ्गहरूमा उपलब्ध छ ।
यसमा ए १९ प्रो चिप प्रयोग गरिएको छ । ए १९ प्रो चिपले आईफोन १७ मा प्रयोग भएको ए १९ चिपभन्दा राम्रो कार्यसम्पादन र दक्षता प्रदान गर्दछ । यसमा ६ कोर सीपीयू छ, जुन आईफोन १४ प्रो को चिपभन्दा ४० प्रतिशत छिटो छ र यसको जीपीयूमा न्युरल एक्सेलेरेटर छन् । जसले आईफोन १६ प्रो र प्रो म्याक्समा ए १८ प्रो को जीपीयूभन्दा तीन गुणा बढी आउटपुट दिन्छ । एप्पलले यसमा १२ जीबी र्याम दिएको छ ।
क्यामेरा सिस्टममा आईफोन एयरमा सिङ्गल ४८ एमपी फ्युजन मेन लेन्स छ, जसले २x अप्टिकल जुम बराबरको क्षमता प्रदान गर्दछ । यसमा १८ एमपी सेन्टर स्टेज फ्रन्ट क्यामेरा पनि छ ।
एप्पलले आईफोन एयरमा 'दिनभर टिक्ने ब्याट्री लाइफ' भएको दाबी गरे तापनि यसको भिडिओ प्लेब्याक २७ घण्टा मात्र रहेको बताइएको छ । यसको म्यागसेफ ब्याट्री एक्सेसरी प्रयोग गर्दा ४० घण्टासम्म भिडिओ प्लेब्याक प्राप्त गर्न सकिन्छ ।
आईफोन एयरमा एप्पलको इन हाउस सी १ एक्स मोडेम छ, जुन बढी प्रभावकारी छ । यसलाई एप्पलले बनाएको अहिलेसम्मकै सबैभन्दा पावर-इफिसेन्ट आईफोन भनिएको छ । यसमा यूएसबी-सी पोर्ट छ । यो मोडलमा डुअल ईसीमको सुविधा छ ।
पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १६:१९
