close

ठुलो भौतिक क्षतिपछि एनसेलले भन्यो- हामी फेरी उठ्ने छौं

टेकपाना टेकपाना

भदौ २९, २०८२ २२:११

ठुलो भौतिक क्षतिपछि एनसेलले भन्यो- हामी फेरी उठ्ने छौं

काठमाडौँ । जेनजी आन्दोलनको आडमा हिंसा फैलिँदा दूरसञ्चार सेवा प्रदायक एनसेलको काठमाडौँस्थित मुख्य कार्यालय ‘एनसेल आइकन’ सहित महेन्द्रनगर, धनगढी र पोखराका क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्षति पुगेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि जोखिम उत्पन्न गराएको जनाएको छ ।

चुनौतीका बाबजुद देश र जनमानसमा दूरसञ्चार सेवाको निरन्तर पहुँच सुनिश्चित गरिएको कम्पनीको भनाइ छ । संकटको समयमा सेवाको उपलब्धता कायम राख्न कम्पनीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको थियो ।

एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै युवा आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ । कम्पनीले देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । ​​​​

ठुलो भौतिक क्षतिपछि एनसेलले आफू फेरि उठ्ने उल्लेख गरेको छ ।

“२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुर्याउँदै आएको छ,” कम्पनीले भनेको छ, “आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौं । हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौं र अहिलेसम्म प्रदान गर्नु भएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौं ।”

 

 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ २२:२१