एफवनसफ्टको २१ वर्षे नेतृत्वपछि विश्वास ढकाल यूएईको फिल्प्समार्फत अन्तर्राष्ट्रिय फिनटेक यात्रामा
असोज २, २०८२ १३:४०
काठमाडौँ । नेपालको विद्युतीय भुक्तानी पूर्वाधार निर्माणमा भूमिका खेलेका उद्यमी विश्वास ढकाल अब अन्तर्राष्ट्रिय फिनटेक बजार विस्तारमा जुटेका छन् । २१ वर्षसम्म एफवनसफ्ट ग्रुपको नेतृत्व गरेका ढकाल यूएईस्थित फिनटेक कम्पनी फिल्प्स लिमिटेडमार्फत डिजिटल समाधान ल्याउन अग्रसर भएका हुन् ।
फिल्प्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा आफ्नो अनुभव अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न लागेको उनले बताएका छन् ।
नेपालमा दैनिक एक करोड कारोबार र १६ लाखभन्दा बढी मर्चेन्टमार्फत वार्षिक ७२ खर्बभन्दा बढीको कारोबार राफसाफ गराउन सफल ढकालले नेपालको जनसंख्या सीमित भएकाले अब आफू ‘ग्लोबल’ सपना बोकेर फिल्प्समा आएको उल्लेख गरे ।
फिल्प्समा ढकालको मुख्य ध्यान लो-कस्ट बैङ्किङ सबैका लागि, सबैतिर पुर्याउनमा केन्द्रित हुनेछ । उनले लिङ्क्डइनमा लेखेका छन्, “विकसित सहरदेखि ग्रामीण भेगसम्म एआईमा आधारित डिजिटल बैंक प्लेटफर्म बनाउँदै छौं । फिल्प्स सफ्टवेयर निर्माता मात्रै होइन । समग्र इकोसिस्टम निर्माणमा मेरो ध्यान केन्द्रित हुनेछ । नेपालमा दुई दशकसम्म लाइसेन्स प्राप्त वित्तीय सेवा सञ्चालन गरेको मेरो अनुभवले फिल्प्सलाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छु ।”
उनका अनुसार फिल्प्सले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरी विभिन्न डिजिटल समाधानहरू प्रदान गर्नेछ । हालै फिल्प्सले बांग्लादेशको एबी बैंक पिएल्सीसँग डिजिटल ऋण सुविधा प्रदान गर्ने सम्झौता गरेको थियो । यसैगरी, हालै इनोभेसन रणनीतिकार माइकल क्लार्कलाई प्रोडक्ट्स एण्ड इनोभेसन एड्भाइजर नियुक्त गरिएको थियो ।
ढकाल गत वर्षको फागुनदेखि एफवनसफ्ट ग्रुपको कार्यकारी भूमिकाबाट बाहिरिएका थिए । उनले अध्यक्षको जिम्मेवारी प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीलाई हस्तान्तरण गरेका थिए ।
पछिल्लो अध्यावधिक: असोज २, २०८२ १४:५१
