२९ हजार मूल्यमा नेपाल भित्रिएको ‘सामसङ ग्यालेक्सी ए१७ फाइभजी’ कस्तो छ ? (भिडिओ रिभ्यु सहित)
असोज २, २०८२ १८:२१
काठमाडौँ । ३० हजार रुपैयाँभन्दा कम मूल्यमा राम्रो क्यामेरा, आकर्षक डिजाइन र भरपर्दो प्रदर्शन भएको स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने सामसङले हालै बजारमा ल्याएको ग्यालेक्सी ए१७ फाइभजी एउटा उत्कृष्ट विकल्प हुन सक्छ ।
यो फोन म्याट फिनिस, स्लिक डिजाइन र ट्रिपल क्यामेरा सेटअपका साथ आएको छ । यसको लुक्स सामसङको प्रिमियम सिरिजभन्दा कम देखिँदैन । हल्का र आरामदायी लाग्ने यो फोन बोक्न पनि सहज छ । यसमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । जसले ९० हर्जको रिफ्रेस रेट प्रदान गर्दछ । यसको डिस्प्लेमा गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सन पनि दिइएको छ ।
क्यामेरा
फोनमा ५० मेगापिक्सेलको अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) युक्त मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्स पाउन सकिन्छ । सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
फोनबाट खिचिएका तस्बिरहरूको गुणस्तर निकै राम्रो छ । यसले कलरहरूलाई सन्तुलित रूपमा प्रस्तुत गर्दछ । अल्ट्रावाइड, पोर्ट्रेट र सेल्फीहरू पनि आकर्षक छन् । कम प्रकाशमा लिइएका तस्बिरहरू पनि पर्याप्त राम्रो मान्न सकिन्छ ।
भिडिओको कुरा गर्दा, यस फोनको फ्रन्ट तथा ब्याक क्यामेराबाट ३० फ्रेम प्रति सेकेन्ड (एफपीएस) मा फुल एचडी भिडिओ खिच्न सकिन्छ । ओआईएसले भिडिओलाई स्टेबल बनाउँछ र पर्याप्त प्रकाशमा गुणस्तर पनि राम्रो छ । समग्रमा, फोनको फोटो र भिडिओ गुणस्तरलाई राम्रो मान्न सकिन्छ ।
पर्फमेन्स
एन्ड्रोइड १५ मा आधारित यो फोनमा सामसङको आफ्नै वनयूआई सेभेन पाउन सकिन्छ । यसको यूआई क्लिन र युजरफ्रेन्ड्ली छ । साथै राम्रो विजेट इन्टिग्रेसन पनि पाउन सकिन्छ । फोन एक्सिनोस १३३० चिपसेटबाट सञ्चालित छ, जसलाई बजेटमैत्री चिपसेट मान्न सकिन्छ । २०२३ मा लन्च गरिएको यो चिपसेटले इन्टरनेट सर्फिङ, ब्राउजिङ वा सामाजिक सञ्जाल ह्यान्डलिङ जस्ता काममा राम्रै प्रदर्शन गर्दछ । यसमा मल्टिटास्किङ र सामान्य गेमिङ पनि सहजै गर्न सकिन्छ । तर हेभी गेमिङका लागि यो फोन उपयुक्त नहुन सक्छ । सामसङले ६ ओटा प्रमुख एन्ड्रोइड अपग्रेड र सेक्युरिटी अपडेट दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
ब्याट्री र स्टोरेज
ग्यालेक्सी ए१७ फाइभजीमा ५००० एमएएच क्षमताको ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ । यसले एक दिनसम्मको ब्याट्री लाइफ प्रदान गर्न सक्छ । फोन फुल चार्ज हुन लगभग १ घण्टा ४० मिनेट लाग्ने बताइएको छ । यो फोन ६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबी लगायत विभिन्न स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
अन्य सुविधा
फोनमा वालपेपर, थिम, आइकनहरूका लागि केही अप्सन दिइएको छ । क्विक एक्सेसका लागि एज प्यानल, मल्टिटास्किङका लागि स्प्लिट स्क्रिन, मल्टी विन्डोको सुविधा पनि छ । यसमा जेमिनाई एप र सर्कल टु सर्च फिचर पनि उपलब्ध छ । कनेक्टिभिटीका लागि डुअल सिम, डुअल ब्यान्ड वाई-फाई, ब्लुटुथ लगायत पाउनुहुन्छ । फोनले मोनो स्पिकर मात्र प्रदान गर्दछ । सुरक्षाका लागि साइड माउन्टेड फिंगरप्रिन्ट, पिन, प्याटर्न आदि उपलब्ध छन् । यस फोनमा धूलो र पानीको छिटाबाट बचाउन आईपी५४ रेटिङ मात्र पाउनुहुन्छ ।
मूल्य र उपलब्धता
नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१७ फाइभजीको सुरुवाती भेरियन्टको मूल्य २८ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोन कालो, नीलो र खैरो गरी तीन रङका विकल्पमा उपलब्ध छ ।
समग्रमा, यदि तपाईं ठिक्कको बजेटमा राम्रो क्यामेरा र प्रदर्शन, आकर्षक लुक्स र भरपर्दो ब्रान्डको फोन खोज्दै हुनुहुन्छ भने सामसङ ग्यालेक्सी ए१७ फाइभजी यो दशैंमा एउटा राम्रो विकल्प हुन सक्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०८२ १९:४१
