close

कार्यपालिका बैठकमा नगर प्रहरीलाई पानी हाल्न अह्राएछि धरानका वडाध्यक्ष भाइरल

टेकपाना टेकपाना

असोज ३, २०८२ १४:५२

कार्यपालिका बैठकमा नगर प्रहरीलाई पानी हाल्न अह्राएछि धरानका वडाध्यक्ष भाइरल

काठमाडौँ । कार्यपालिका बैठकमा नगर प्रहरीलाई गिलासमा पानी सार्न लगाएपछि धरान उपमहानगरपालिकाका वडाध्यक्ष सूर्य बहादुर (मनोज) भट्टराई सामाजिक सञ्जालमा यतिखेर भाइरल बनेका छन् । भिडिओ भाइरल भएसँगै वडा नं १७ का अध्यक्ष भट्टराईले पदमा पुगेपछि त्यसको दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् । 

भाइरल भएको क्लिपमा बैठकको बिचमा धरानका मेयर हर्कराज साम्पाङले जगबाट आफैँ गिलासमा पानी हालेर पिएको देखिन्छ । त्यसपछि भिडिओमा सोही बैठकमा रहेका वडाध्यक्ष भट्टराईलाई देखाइएको छ । भिडि‌ओमा उनले गर्मी मान्दै आफ्नै शर्ट टकटकाइरहेका हुन्छन् । त्यसपछि उनी आफ्नो पछाडि उभिएका नगर प्रहरीलाई हेर्दै जगबाट गिलासमा पानी हाल्ने इसारा गर्छन् । 

त्यसपछि ती नगरप्रहरीले वडाध्यक्षको गिलासमा पानी हालि दिन्छन् । यसपछि वडाध्यक्ष भट्टराईले पानी पिएको दृश्यसम्मको क्लिप सामाजिक सञ्जालमा भाइरल भएको हो ।  

सामाजिक सञ्जाल एक्सका प्रयोगकर्ता ‘sanjip’ ले बिहीबार राति भिडिओ सार्वजनिक गर्दै लेखेका छन्, “यसो पदमा पुगेपछि फुर्तीफार्ती बढि हाल्ने क्या!” 

अर्का फेसबुक प्रयोगकर्ता ‘Dinesh Tilling’ ले लेखेका छन्, “कम्युनिस्ट सिद्धान्त अनुसरण गरेका, सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने धरानका एक वडाध्यक्ष सामन्ती मानसिकताले ग्रसित मनोज भट्टराईको सान हेर्नुहोस !”

टिकटकमा ‘ABC Update’ नामक अकाउन्टले लेखेको छ, “पानी पिउन समेत नगर प्रहरीको सहारा चाहिन्छ यिनलाई ।”

कतिपय प्रयोगकर्ताले ‘वडाध्यक्षले पदको घमण्ड गरेको’, ‘जनप्रतिनिधिलाई तह लगाउन धरानमा पनि जेन जीको आवश्यकता देखिएको’ लगायतका टिप्पणी गरेका छन् । 

भट्टराई स्थानीय तह निर्वाचन २०७९ मा माओवादी केन्द्रबाट धरान उपमहानगरपालिका १७ को वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उपमहानगरपालिकाको प्रवक्ता समेत रहेका भट्टराईले उक्त भाइरल भिडिओ आफ्नै रहेको स्वीकार गरेका छन् । उनका अनुसार उक्त भिडिओ बिहीबार दिउँसो कार्यपालिका बैठक सञ्चालन भइरहेको बेला खिचिएको हो ।

“मेरो अगाडि जग थियो । त्यो जग नगर प्रहरी भाइले मेयरसम्म पुर्‍यायो । मैले जग मागेँ, उसले पानी हाल्दियो । जग अलि पर भएकाले मागेको हुँ ,” उनले टेकपानासँग भने, “अलि गाह्रो भइरहेको थियो । त्यसैले पानी मागेको, भिडिओ बनाएर हालिदिएछन् ।”

पछिल्लो अध्यावधिक: असोज ३, २०८२ १४:५२