close

आईफोन १७ किन्न भारतमा उर्लियो भिड, दिल्लीमा बिहानैदेखि लामो लाइन, मुम्बईमा कुटाकुट

टेकपाना टेकपाना

असोज ४, २०८२ १०:५२

आईफोन १७ किन्न भारतमा उर्लियो भिड, दिल्लीमा बिहानैदेखि लामो लाइन, मुम्बईमा कुटाकुट

काठमाडौँ । एप्पलको नयाँ आईफोन सिरिज औपचारिक रूपमा बिक्री हुँदा हरेक वर्ष भारत चर्चामा आउने गर्छ । खासगरी आईफोन खरिद गर्न स्टोर खुल्नु अगावै लाग्ने भिडका कारण पनि भारतले चर्चा पाउने गरेको हो ।

एप्पलले भारतमा शुक्रबारदेखि आफ्नो बहुप्रतीक्षित नयाँ आईफोन १७ सिरिज र आईफोन एयरको बिक्री सुरु गर्‍यो । लगतै नयाँ फोन हात पार्न हजारौं मानिस एप्पल स्टोरमा बिहानैदेखि लामबद्ध भएको भिडिओ यतिबेला भाइरल भइरहेका छन् ।

यसैबिच मुम्बईको बन्दा कुर्ला कम्प्लेक्समा शुक्रबार बिहान नयाँ आईफोन खरिद गर्न गएका व्यक्तिबिच नै झगडा भएको छ । समाचार एजेन्सी पीटीआईले सार्वजनिक गरेको भिडिओमा आईफोन पारखी एप्पल स्टोरको बाहिर लडिरहेको देखिन्छन् ।

भाइरल भिडिओमा दर्जनौं मानिसहरू सिसाको एप्पल स्टोर बाहिर खचाखच भरिएर एकअर्कालाई थप्पड हानिरहेको र हिर्काइरहेको देखिन्छ । भिडिओमा रातो सर्ट लगाएका एक व्यक्तिलाई बर्दीधारी सुरक्षाकर्मीले भिडन्तबाट बाहिर निकालिरहेको पनि देखाइएको छ । तीमध्ये एक सुरक्षाकर्मीलाई उनले हिर्काउने प्रयास गर्छन्, त्यसपछि अर्का सुरक्षाकर्मीले उनलाई तानेर लैजान्छन् ।

भिडिओ अगाडि बढ्दै जाँदा सेतो सर्ट लगाएका अर्का ग्राहकले हस्तक्षेप गर्छन् र आक्रमणकारीलाई नियन्त्रणमा लिइँदै गर्दा सुरक्षागार्डको हालखबर सोध्छन् । यो सबै भइरहँदा पृष्ठभूमिमा भिडन्त जारी रहन्छ । हातमा लाठी उठाएका तेस्रा सुरक्षाकर्मी पनि देखिन्छन्, तर एक्लै भएकाले उनले केही गर्न सकेनन् ।

त्यस्तै नयाँ दिल्लीको साकेतस्थित एप्पल स्टोर बाहिरको दृश्यले पनि सबैको ध्यान खिचेको छ । जहाँ मानिसहरू स्टोर खुल्नुभन्दा घण्टौं अघिदेखि कुर्सीमा बसेर आफ्नो पालो कुरिरहेका थिए ।

समाचार एजेन्सी एएनआईले सामाजिक सञ्जाल एक्समा भिडिओ पोस्ट गर्दै लेखेको छ, “दिल्लीको साकेतस्थित एप्पल स्टोर बाहिर लामो लाइन देखिएको छ ।” भाइरल भिडिओमा मानिसहरू धैर्यतापूर्वक कुर्सीमा बसेर पर्खिरहेको र स्टोरको सुरक्षाका लागि सुरक्षाकर्मीहरू तैनाथ गरिएको देख्न सकिन्छ ।

एएनआईले त्यहाँ आएका ग्राहकलाई नयाँ फोन खरिद गर्नुको कारण सोधेको थियो । जवाफमा केहीले एप्पलको नयाँ डिजाइन मन परेको बताएका छन् भने केहीले हरेक वर्षजसो अपडेट गरिरहने भएकाले पनि नयाँ मोडेल लिन उत्सुक भएको सुनाएका छन् ।

१९ सेप्टेम्बर २०२५ देखि भारतमा एप्पल आईफोन १७ सिरिजका चार नयाँ मोडेलहरू उपलब्ध भइसकेका छन् । यो नयाँ सिरिजमा आईफोन १७, आईफोन एयर, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स समावेश छन् । ग्राहकले यी नयाँ मोडेल भारतका विभिन्न एप्पल स्टोरहरूबाट वा अनलाइनमार्फत खरिद गर्न सक्नेछन् ।

आईफोन १७:

  • २५६ जीबी: भारु ८२,९०० (१,३२,६४० रुपैयाँ)

  • ५१२ जीबी: भारु १,०२,९०० (१,६४,६४० रुपैयाँ)

आईफोन १७ प्रो:

  • २५६ जीबी: भारु १,३४,९०० (२,१५,८४० रुपैयाँ)

  • ५१२ जीबी: भारु १,५४,९०० (२,४७,८४० रुपैयाँ)

आईफोन १७ प्रो म्याक्स:

  • २५६ जीबी: भारु १,४९,९०० (२,३९,८४० रुपैयाँ)

  • ५१२ जीबी: भारु १,६९,९०० (२,७१,८४० रुपैयाँ)

  • १ टीबी: भारु १,८९,९०० (३,०३,८४० रुपैयाँ)

  • २ टीबी: भारु २,२९,९०० (३,६७,८४० रुपैयाँ)

आईफोन एयरको मूल्य कति ?

‘अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन’ भनेर चर्चामा आएको यो नयाँ मोडेलको मूल्य भारतमा यस्तो छः

  • २५६ जीबी: भारु १,१९,९०० (१,९१,८४० रुपैयाँ)

  • ५१२ जीबी: भारु १,३९,९०० (२,२३,८४० रुपैयाँ)

  • १ टीबी: भारु १,५९,९०० (२,५५,८४० रुपैयाँ)

पछिल्लो अध्यावधिक: असोज ४, २०८२ ११:१