बोल्न नसक्ने व्यक्तिहरूमा मस्तिष्क इम्प्लान्ट परीक्षण गर्दै एलन मस्कको न्युरालिङ्क
असोज ५, २०८२ ९:३
काठमाडौँ । अर्बपति एलन मस्कको ब्रेन-इम्प्लान्ट कम्पनी न्युरालिङ्कले बोली सम्बन्धी कमजोरी भएका मानिसहरूलाई उनीहरूको विचारलाई टेक्स्टमा अनुवाद गर्न मद्दत गर्ने उद्देश्यले अक्टोबरमा एक परीक्षण सुरु गर्ने योजना बनाएको छ । कम्पनीका अध्यक्ष डोङ्गजिन डीजे सिओले यसको जानकारी बाहिर ल्याएका हुन् ।
सिओलस्थित कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीमा बोल्दै सिओले यो अध्ययन बोल्ने क्षमता गुमाएका मानिसहरूलाई लक्षित गरी गरिने बताको रोयटर्समा उल्लेख छ । यसले उनीहरूलाई कुनै किबोर्ड बिना नै मस्तिष्कबाट सोझै आवाजमा जान सक्षम बनाउनेछ । उनले थपेका छन्, "यदि तपाईँ केही बोल्ने कल्पना गर्दै हुनुहुन्छ भने हामी त्यसलाई पत्ता लगाउन सक्षम हुनेछौँ ।"
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले यो उपकरणलाई बोलीका लागि 'ब्रेकथ्रु डिभाइस'को मान्यता दिएको छ । यो मान्यताले उपकरणको विकास, मूल्याङ्कन र समीक्षालाई तीव्र बनाउन मद्दत गर्न सक्छ । एफडीएले सन् २०२२ मा पहिलो आवेदन अस्वीकार गरेपछि सुरक्षा चिन्ताहरूलाई सम्बोधन गरेर कम्पनीले सन् २०२४ मा मानव परीक्षण सुरु गरेको थियो ।
गत महिनासम्म विश्वभरका १२ जनाले न्युरालिङ्कको चिप प्राप्त गरिसकेको र १५ हजार घण्टाभन्दा बढी प्रयोग रेकर्ड भएको बताइएको छ । न्युरालिङ्कको इम्प्लान्ट मेरुदण्डमा चोट लागेको जस्ता अवस्थाहरू भएका मानिसहरूलाई मद्दत गर्न डिजाइन गरिएको हो ।
हालसम्म पहिलो बिरामीले यसको प्रयोग भिडियो गेम खेल्न, इन्टरनेट चलाउन, सामाजिक सञ्जालमा पोस्ट गर्न र ल्यापटपमा कर्सर सार्नका लागि गरेका छन् ।
पछिल्लो अध्यावधिक: असोज ५, २०८२ ९:३
