विज्ञान प्रविधिमन्त्री पुनका लागि मन्त्रालयमै बेडरुम र किचेनको तयारीमा कर्मचारीहरू जुट्दै
असोज ७, २०८२ १८:५१
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमै बस्ने खाने व्यवस्था गर्ने इच्छा गरेपछि मन्त्रालयका कर्मचारी बेडरुम र किचेन व्यवस्थापनमा जुटेका छन् ।
सिंहदरबारमा रहेको शिक्षा मन्त्रालय जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि केशरमहलस्थित भवनमा शिक्षा मन्त्रालय सारिएको छ ।
सोमबार शिक्षामन्त्रीको शपथ लिएर मन्त्रालयमा पदभार ग्रहण गरेपछि पुनले मन्त्रालयका कर्मचारीलाई आफूलाई मन्त्रालयमै खाने बस्ने सुविधा मिलाइदिन आग्रह गरेका थिए । त्यसपछि मन्त्रालयका कर्मचारीहरुले मन्त्रीको आग्रहअनुसार भाँडाकुँडा, चप्पल, पानी पिउने जग, खाट, झुलदेखि सिरक डस्ना व्यवस्थापन गरिरहेका छन् । घरायसी प्रयोजनका लागि चाहिने सबै सामान जोहो भइरहेको मन्त्रालयले जनाएको छ ।
सुत्ने कोठा र भान्छा मन्त्रीको कार्यकक्ष छेउमा निर्माण गरिएको छ । मन्त्री पुनले आफूलाई सामान्य खाना पकाउने सामग्री र सुत्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
पछिल्लो अध्यावधिक: असोज ७, २०८२ १९:१२
