३ महिनाभित्र परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको सरकारी अनुदान रोक्का हुने
असोज ७, २०८२ २२:९
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तीन महिनाभित्र परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको सरकारी अनुदान रोक्का गर्न निर्देशन दिएका छन् । विश्वविद्यालयहरूको सुस्त कार्यशैलीका कारण विद्यार्थीहरूले लामो समयसम्म पर्खनु परिरहेको समस्यालाई सम्बोधन गर्न पुनले यस्तो निर्णय सुनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सुनाउँदै उनले भने, “केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूका लागि त्यो अपूरणीय क्षति हो । त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने ।”
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का पाँच लाखभन्दा बढी विद्यार्थीको परीक्षाफल तीन महिनाभित्रै सार्वजनिक गर्न सफल भएको सन्दर्भ पनि उनले दिएका छन् ।
यसका साथै मन्त्री पुनले सार्वजनिक विद्यालयमा अनिवार्य रूपमा कम्प्युटर शिक्षकको दरबन्दी थप गर्ने र त्रिभुवन विश्वविद्यालय क्षेत्र सफा गरेर सुन्दर बनाउन बगैंचा र फुटपाथ निर्माण गर्ने निर्णय सुनाएका छन् ।
पछिल्लो अध्यावधिक: असोज ७, २०८२ २२:२८
