close

जेनजी आन्दोलन: सीटीईभीटीका २३ परीक्षा केन्द्रका उत्तरपुस्तिका जले, फेरि परीक्षा लिइने

टेकपाना टेकपाना

असोज १०, २०८२ १३:४८

जेनजी आन्दोलन: सीटीईभीटीका २३ परीक्षा केन्द्रका उत्तरपुस्तिका जले, फेरि परीक्षा लिइने

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २३ ओटा परीक्षा केन्द्रका उत्तरपुस्तिकाहरू जलेर नष्ट भएका छन् । प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका डिप्लोमा र प्रि-डिप्लोमा तहका ती उत्तरपुस्तिकाहरू आंशिक वा पूर्ण रूपमा क्षति भएका हुन् ।

सीटीईभीटीले बिहीबार एक सूचना जारी गर्दै नष्ट भएका उत्तरपुस्तिकाहरूको पुनः परीक्षा आगामी ४ मंसिरदेखि सञ्चालन गरिने जानकारी दिएको छ ।

क्षतिग्रस्त भएका परीक्षा केन्द्रहरूमध्ये कोशी प्रदेशका पाँच ओटा र बागमती प्रदेशका १८ ओटा रहेका छन् । कोशी प्रदेशमा झापाका मोहन माया मावि, ढुकुरपानी मावि, वीर अमरसिंह मावि र सुनसरीका राष्ट्रिय मावि र कचना माविका उत्तरपुस्तिकाहरू जलेका छन् ।

त्यस्तै, बागमती प्रदेशअन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न परीक्षा केन्द्रका उत्तरपुस्तिकाहरू नष्ट भएका छन् । काठमाडौँमा शंखरापुर बहुप्राविधिक शिक्षालय, काठमाडौँ इन्स्टिच्युट अफ टेक्नोलोजी, मदन आश्रित स्मृति बहुप्राविधिक शिक्षालय, विनायक कलेज अफ हेल्थ साइन्स, शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था, नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, जन प्रभात मावि, अल नेपाल कलेज अफ टेक्निकल एजुकेसन, होलि भिजन टेक्निकल क्याम्पस, कान्तिपुर कलेज अफ मेडिकल साइन्स, सितापाइला मावि, शुभेच्छा पोलिटेक्निकल इन्स्टिच्युटका उत्तरपुस्तिका जलेका छन् ।

भक्तपुरको बागीश्वरी मावि, ललितपुरका शंखरापुर एकेडेमी, फुल्चोकी मावि, लुभु मावि, बि एण्ड बि मेडिकल इन्स्टिच्युट र काभ्रेपलाञ्चोकको नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा सञ्चालित परीक्षाका उत्तरपुस्तिकाहरू पनि जलेर नष्ट भएका हुन् ।

सीटीईभीटीले नष्ट भएका उत्तरपुस्तिकाहरूको विस्तृत विवरण आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १४:२