close

सुपर कृषक एपमा ‘कृषि इन्टेलिजेन्स’ सुविधा, किसानलाई एआईमार्फत स्मार्ट परामर्श

टेकपाना टेकपाना

असोज ११, २०८२ १७:४३

सुपर कृषक एपमा ‘कृषि इन्टेलिजेन्स’ सुविधा, किसानलाई एआईमार्फत स्मार्ट परामर्श

काठमाडौँ । दशैँको अवसर पारेर सुपर कृषक एपले आफ्नो प्लेटफर्ममा ‘सुपर कृषक कृषि इन्टेलिजेन्स’ नामक एक एआईमा आधारित नयाँ सुविधा सार्वजनिक गरेको छ । किसानहरूलाई नवीनतम प्रविधिमार्फत सशक्त बनाउन र उनीहरूले सामना गरिरहेका कृषि परामर्श सम्बन्धी चुनौतीहरूलाई सहज बनाउँदै तत्काल र भरपर्दो जानकारीमा पहुँच प्रदान गर्न यो सुविधा ल्याएको एप सञ्चालक कम्पनी घाम पावरले जनाएको छ ।

सुपर कृषक एपभित्र रहने च्याट सुविधामार्फत किसानहरूले आफ्नो कृषि सम्बन्धी कुनै पनि प्रश्न सरल नेपाली वा अन्य भाषामा सोध्न सक्छन् । यस प्रणालीले बालीमा लाग्ने रोग तथा किराहरूको पहिचान र व्यवस्थापन विधिहरू, मौसमको वर्तमान अवस्था र आगामी दिनको पूर्वानुमान, कृषि गतिविधिको कार्यतालिका, स्थानीय तथा प्रमुख बजारहरूमा कृषि उपजको दैनिक मूल्य, बालीको उत्पादन लागत विश्लेषण र बजारीकरणका लागि उपयुक्त समयबारे परामर्श, खेती प्रणाली र आधुनिक कृषि अभ्यासहरूबारे जानकारीका साथै आवश्यक मल, जलको मात्रा र समयबारे सटिक जानकारी र सल्लाह प्रदान गर्ने बताइएको छ ।

प्रभावकारी र व्यक्तिगत परामर्शका लागि प्रयोगकर्ताहरूले एपको ‘कृषि चिना’मा आफ्नो जग्गाको विवरण, लगाएको बाली र मिति अपडेट पनि गर्न सक्नेछन् । यसले गर्दा एआई प्रणालीले उनीहरूको अवस्था अनुसार विशेष सल्लाह उपलब्ध गराउन सक्छ ।

‘कृषि इन्टेलिजेन्स’ ले किसान र कृषि विज्ञबिचको सूचनाको दूरीलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने तथा किसानहरूलाई आत्मनिर्भर बनाउन र कृषि उत्पादनलाई थप व्यावसायिक बनाउन मद्दत पुर्‍याउने कम्पनीले विश्वास लिएको छ । 

 

पछिल्लो अध्यावधिक: असोज ११, २०८२ १७:५२