close

सामाखुसीमा नयाँ चार्जिङ स्टेसन उद्घाटन

टेकपाना टेकपाना

असोज १२, २०८२ १६:४०

सामाखुसीमा नयाँ चार्जिङ स्टेसन उद्घाटन

काठमाडौँ । चेन्ज डिजिटलले काठमाडौँको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । संस्थाले सञ्चालनमा ल्याएका चार्जिङ स्टेसनको आइतबार उद्घाटन गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

विद्युतीय चार्जिङ स्टेसनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर होटल, रेस्टुरेन्ट, कफी शप खोल्न सकिने र त्यसबाट रोजगारी सिर्जना हुनसक्ने मन्त्री घिसिङले बताए ।

चार्जिङ स्टेसन व्यवसाय गर्नका लागि लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै घिसिङले नेपालमा उत्पादित जलविद्युत खपतका लागि घरायसी, उद्योग, कलकारखानालगायतका सबै क्षेत्रमा उपभोग बढाएर पेट्रोलियम पदार्थको आयातलाई घटाउन सकिने उनको भनाइ छ । यसबाट आयात घट्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परी अर्थतन्त्रमा ठुलो योगदान पुग्ने उनले बताए ।

सरकारले विभिन्न नीति तथा योजनामार्फत विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ । सन् २०३० सम्ममा कूल निजी सवारीसाधनको ९० प्रतिशत र सार्वजनिक सवारीसाधनको ७० प्रतिशत विद्युतीय सवारी पुर्‍याउने सरकारको लक्ष्य छ ।

विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ ओटा चार्जिङ स्टेसन स्थापना गरेको छ । निजी क्षेत्रका करिब ८०० ओटा चार्जिङ स्टेसन सञ्चालित छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत भायबिलिटी ग्याप फन्डिङ सहयोगमा आधारित दिगो ऊर्जा च्यालेन्ज फन्ड मार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ । केन्द्रबाट १८ ओटा कम्पनीसँग ४५ ओटा आयोजनामार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८२ १६:५७