काठमाडौँ । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको आयोगको बैठकले उनीहरूको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगले राहदानी विभागलाई पत्राचार गर्दै उनीहरूको पासपोर्ट रोक्का गर्न र स्वीकृतिबिना काठमाडौँ उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सिफारिस गरेको छ ।
पासपोर्ट रोक्का हुने सूचीमा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि परेका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी युवा पुस्ताले २३ भदौमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा हालसम्म ७४ जनाको मृत्यु भएको छ भने १,३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा ६१ जना प्रदर्शनकारी र सर्वसाधारण, तीन जना प्रहरी अधिकारी र १० जना कैदी छन् । त्यस्तै देशैभर सार्वजनिक-निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
जेनजी पुस्ताले सामाजिक सञ्जाल टिकटक, रेडिट र डिस्कर्डमार्फत यो आन्दोलनको घोषणा गरेको थियो । यही आन्दोलनको आडमा बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको हो ।
पछिल्लो अध्यावधिक: असोज १२, २०८२ १९:४
