इन्स्टाग्राममा सुरक्षित छैनन् किशोर-किशोरी, ३० ओटा सेक्युरिटी टुल पूर्ण रूपमा असफल
असोज १२, २०८२ २०:४३
काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले किशोर-किशोरीहरूको सुरक्षाका लागि सार्वजनिक गरेका सेक्युरिटी टुलहरू प्रभावकारी नभएको एक अध्ययनले दाबी गरेको छ ।
साइबरसेक्युरिटी फर डेमोक्रेसीसहित बाल सुरक्षा सम्बन्धी विभिन्न संस्थाले संयुक्त रूपमा गरेको अध्ययनमा किशोर–किशोरीहरूको अकाउन्टमा अझै पनि आत्महत्या वा आत्म–हानिकारक गतिविधिलाई प्रोत्साहित गर्ने कन्टेन्टहरू सजिलै भेटिने तथ्य उजागर भएको छ ।
सन् २०२४ मा अभिभावकको निगरानीमार्फत किशोर–किशोरीलाई थप सुरक्षित बनाउने उद्देश्यले इन्स्टाग्रामले ‘टिन अकाउन्ट’ सञ्चालनमा ल्याएको थियो । तर अनुसन्धानकर्ताले परीक्षण गरेका ४७ ओटा सेक्युरिटी टुलमध्ये ३० ओटा पूर्ण रूपमा असफल वा अस्तित्वमै नभएको पाइएको छ ।
अध्ययनले इन्स्टाग्रामको एल्गोरिदमले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई ‘लाइक’ र ‘भ्युज’ का लागि यौनजन्य तथा जोखिमपूर्ण गतिविधि गर्न प्रोत्साहित गर्ने आरोप पनि लगाएको छ ।
बाल सुरक्षा क्षेत्रमा सक्रिय मोली रोज फाउन्डेसनले यसलाई प्रयोगकर्ताको सुरक्षाभन्दा पनि इन्गेजमेन्ट र नाफालाई प्राथमिकता दिने मेटाको कर्पोरेट संस्कृतिको परिणाम भन्दै कडा आलोचना गरेको छ । सन् २०१७ मा अनलाइन सामग्रीको नकारात्मक प्रभावका कारण आत्महत्या गरेकी बेलायती किशोरी मोली रसेलको स्मृतिमा यो फाउन्डेसन स्थापना गरिएको हो ।
तर मेटाले भने अध्ययन र त्यसका निष्कर्षहरूलाई गलत प्रस्तुतीकरण भएको भन्दै अस्वीकार गरेको छ । कम्पनीका प्रवक्ताले आफ्ना उपकरणहरूले किशोर-किशोरीहरूलाई कम संवेदनशील सामग्री देखाउने र अभिभावकलाई अझ प्रभावकारी कन्ट्रोल टुल उपलब्ध गराएको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो अध्यावधिक: असोज १२, २०८२ २०:४५
