close

सन्दीप लामिछानेबारे ‘गलत समाचार’ प्रकाशित गरेपछि कान्तिपुरले माग्यो माफी, वेबसाइटबाट डिलिट

टेकपाना टेकपाना

असोज १३, २०८२ १७:२

सन्दीप लामिछानेबारे ‘गलत समाचार’ प्रकाशित गरेपछि कान्तिपुरले माग्यो माफी, वेबसाइटबाट डिलिट

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेको बारेमा प्रकाशित 'गलत' समाचारलाई लिएर कान्तिपुर टेलिभिजनले क्षमा याचना गर्दै आफ्नो वेबसाइटबाट हटाएको छ । आइतबार कान्तिपुर टिभीको वेबसाइटमा ‘वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन ?’ शीर्षकमा एउटा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा लामिछानेले युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० आई खेल नखेल्नुको कारण नेपाल क्रिकेट संघ (क्यान) सँगको विवाद रहेको दाबी गरिएको थियो । समाचारमा स्रोतलाई उद्धृत गर्दै सन्दीपले राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा  सेक्युरिटिजको नाम र लोगो अंकित जर्सी लगाउन अस्वीकार गरेको र छुट्टै सम्झौताको माग गरेकाले नखेलेको उल्लेख थियो ।

कान्तिपुरले यस्तो समाचार लेखेपछि आइतबार नै सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत खण्डन गरेका थिए । उनले कान्तिपुर टिभीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै समाचारको प्रमाण पेश गर्न चुनौती दिएका थिए । उनले नासा सेक्युरिटिजको लोगो अष्ट्रेलिया सिरिज र अन्य खेलहरूमा पनि लगाएको उल्लेख गर्दै क्यानसँगको विषय व्यक्तिगत भए पनि त्यसलाई लिएर ‘हावामा समाचार’ लेखिएकोमा आपत्ति जनाएका थिए ।

सन्दीपको खण्डन र क्रिकेट समर्थकहरूको चर्को आलोचनापछि कान्तिपुर टेलिभिजनले आज आफ्नो वेबसाइटमा समाचारप्रति क्षमायाचना गरेको छ । क्षमायाचनामा भनिएको छ, “वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन' शीर्षकमा आइतबार कान्तिपुर टिभीको वेबसाइटमा प्रकाशित समाचारको स्वतन्त्र पुष्टि हुन नसकेकोमा हामी क्षमाप्रार्थी छौं । आधिकारिक स्रोतहरूबाट प्राप्त जानकारीले समाचारमा उल्लेखित विषय पुष्टि हुन नसकेको हो ।” कान्तिपुरले लेखेको समाचारबाट पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी रहेको र आगामी दिनमा थप सजगता अपनाउँदै तथ्यपरक समाचार लेख्ने प्रतिबद्धता जाहेर गरेको छ । हाल उक्त समाचारको लिंकमा क्लिक गर्दा '404 Page Not Found' सन्देश देखा पर्छ । यसले समाचार हटाइएको पुष्टि गर्छ । सन्दीपले सामाजिक सञ्जालमार्फत गरेको खण्डनको आधारमा कान्तिपरले ‘नासा  सेक्युरिटिजका कारण युनिटी कपको पहिलो खेल गुमाएको हैन’ शीर्षकको समाचार पनि हटाएको छ ।

कान्तिपुर टिभीको यो क्षमायाचनाबाट मात्रै कम्पनीका प्रबन्ध निर्देशक सम्भव सिरोहिया सन्तुष्ट देखिएनन् । उनले सामाजिक सञ्जाल एक्समा एउटा लामो पोस्ट लेख्दै आफ्नो न्युजरुमको नेतृत्वको आलोचना गरेका छन् । सिरोहियाले ‘जब न्युजरुमको नेतृत्व षड्यन्त्रकारी बन्छ, गफलाई समाचारको रूप दिइन्छ, तब यसले प्रतिष्ठा र करियरलाई प्रायः अपरिवर्तनीय रूपमा नष्ट गर्छ’ भन्दै आइतबारको कान्तिपुर टेलिभिजनको रिपोर्ट आश्चर्यजनक र निराशाजनक रहेको बताएका छन् ।

उनले समाचार तयार गर्दा पत्रकारिताको आधारभूत सिद्धान्त पालना नभएको भन्दै चार ओटा गम्भीर प्रश्न उठाएका छन्:
१. सन्दीप लामिछानेको पक्ष सोधिएको थियो ? एकपक्षीय रिपोर्ट प्रसारण गर्नुअघि उनको राय समावेश गर्ने प्रयास गरियो? - जवाफ: ‘छैन’
२. समाचार सार्वजनिक भएपछि न्यूजरूमको नेतृत्वभित्र कुनै आलोचनात्मक मूल्यांकन भयो? यो ठीक छैन भनेर कसैले प्रश्न उठाए? - जवाफ: ‘छैन’
३. यदि यसलाई गल्तीको रूपमा पहिचान गरियो भने, कुनै सुधार भयो? समयमै माफी मागियो? - जवाफ: ‘छैन’
४. मुद्दाको बारेमा न्यूजरूमलाई सूचित गर्ने केही सुराग, स्रोतहरू हुनुपर्छ र आधारभूत स्तरको अनुसन्धान हुनुपर्छ? - जवाफ: ‘छैन’

सिरोहियाले उक्त समाचारलाई चिया गफ र गसिपको संज्ञा दिँदै आफ्नो संगठनमा यस्ता संरचनात्मक त्रुटिहरूलाई शून्य सहिष्णुता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफूले व्यक्तिगत रूपमा यस विषयमा छानबिन गरिरहेको समेत बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८२ २२:१५