एआईबाट बनाइएको तस्बिर
काठमाडौँ । चीनले सूचना-प्रविधि क्षेत्रमा विश्वका दक्ष जनशक्तिलाई आकर्षित गर्न ‘के-भिसा’ जारी गर्ने भएको छ । अमेरिकाले हालसालै एच-१बी भिसाको शुल्क ह्वात्तै बढाएपछि वैकल्पिक बाटो खोजिरहेका प्राविधिकहरूलाई लक्षित गर्दै चीनले यस्तो योजना अघि सारेको हो । यो पहललाई अमेरिका–चीनबीचको भूराजनीतिक प्रतिस्पर्धामा बेइजिङको लागि बलियो कदमका रूपमा हेरिएको छ ।
चीनसँग पर्याप्त संख्यामा स्थानीय इन्जिनियर भए पनि बढ्दो व्यापारिक तनाव र देखिएको आर्थिक मन्दीलाई सम्बोधन गर्न विदेशी लगानी तथा प्रतिभालाई सहज वातावरण दिन खोजिएको बताइन्छ । यसअघि पनि चीनले विदेशी लगानी र पर्यटक बढावा दिन युरोपेली देशहरू, जापान र दक्षिण कोरियाका नागरिकहरूलाई भिसा छुट दिने लगायतका पहल अघि सारेको थियो ।
‘के-भिसा’ गत अगस्टमै घोषणा भए पनि यो सातादेखि कार्यान्वयनमा आउने जनाइएको छ । नयाँ भिसा सूचना प्रविधि, विज्ञान, इन्जिनियरिङ र गणित (STEM) विषयमा स्नातक गरेका व्यक्तिहरूका लागि लक्षित छ । यसको विशेषता भनेको चीन जान रोजगारको पूर्व–अफर बिना नै बसोबास र काम गर्न सक्ने सुविधा मिल्नु हो ।
चीनको यो निर्णय विशेषगरी अमेरिकी नयाँ नियमका कारण रोजगारी गुमाएका दक्ष जनशक्तिलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । यसबाट विशेषगरी भारतीय प्राविधिकहरू लाभान्वित हुने अनुमान गरिएको छ ।
पछिल्लो अध्यावधिक: असोज १४, २०८२ ९:२२
