काठमाडौँ । स्पोटिफाइका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत ड्यानियल एकले आगामी जनवरीदेखि आफ्नो पद छोड्ने भएका छन् । कम्पनीले प्रतिस्पर्धीहरूसँग टक्कर दिँदै नाफा बढाउने रणनीतिमा नयाँ नेतृत्व संरचना ल्याउने घोषणा गरेको हो । यसपछि ड्यानियल एक कम्पनीमा कार्यकारी अध्यक्षको भूमिकामा मात्र रहनेछन् । उनले कम्पनीको दैनिक सञ्चालनको जिम्मेवारी नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने तयारी गरेका हुन् ।
सन् २००६ मा स्विडेनको स्टकहोल्ममा स्थापना भएको स्पोटिफाइले म्युजिक मार्केटमा ठुलो प्रभाव पार्दै आएको छ । हाल यसका करिब ७० करोड मासिक सक्रिय प्रयोगकर्ता र १० करोडभन्दा बढी गीतका क्याटलग रहेको छ ।
कम्पनीले सीईओ पदलाई दुई सह-सीईओमा विभाजन गर्ने निर्णय गरेको छ । हाल कम्पनीका प्रमुख उत्पादन तथा प्रविधि अधिकृत गुस्ताभ सोडरस्ट्रोमले अब प्राविधिक रणनीति र उत्पादन विकासमा ध्यान दिनेछन् । त्यस्तै, प्रमुख व्यवसाय अधिकृत पउल नोस्ट्रमले प्रयोगकर्ता वृद्धि, विज्ञापन, संगीत, पडकास्ट र अडियोबुक सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
सीईओ पद छाड्ने निर्णयबारे ड्यानियल एकले भनेका छन्, “अहिलेसम्म म आफैं मैदानमा खेलाडी थिएँ । अब म यही मैदानमा प्रशिक्षक (कोच) को भूमिकामा हुनेछु ।”
पछिल्लो समय एप्पल म्युजिक, युट्युब म्युजिक र अमेजन म्युजिक जस्ता कम्पनीहरूले ठुलो लगानी गर्दै प्रतिस्पर्धा तीव्र पारेका छन् । यी चुनौतीका बीच स्पोटिफाइले नयाँ नेतृत्व संरचना ल्याएर आफूलाई अझ मजबुत बनाउने प्रयास गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज १५, २०८२ ८:२
