close

नथिङले ल्यायो टेक्स्टकै भरमा एप बनाइदिने एआई टुल

टेकपाना टेकपाना

असोज १५, २०८२ ८:१६

नथिङले ल्यायो टेक्स्टकै भरमा एप बनाइदिने एआई टुल

काठमाडौँ । स्मार्टफोन ब्रान्ड नथिङले टेक्स्ट प्रोम्प्टबाटै एप निर्माण गर्न सकिने एआई टुल ‘प्लेग्राउन्ड’ सार्वजनिक गरेको छ । यस टुलमार्फत स्मार्टफोन प्रयोगकर्ताले साधारण टेक्स्ट लेखेर मिनी-एप्स वा विजेट्स सजिलै बनाउन सक्ने कम्पनीले जनाएको छ ।

सफ्टवेयर विकासमा ठुला कम्पनीहरूले देखाएको सुस्ततालाई चिर्न र एआईको युगमा अपरेटिङ सिस्टमलाई थप व्यक्तिगत तथा गतिशील बनाउनुपर्ने आवश्यकताका कारण यो महत्वाकांक्षी योजना अघि सारिएको नथिङका सीईओ कार्ल पेईले बताए । हाल यसमार्फत सीमित एप तथा विजेट्स बनाउन सकिने भए पनि आगामी दिनमा यसलाई पूर्ण एप निर्माण गर्ने टुलको रूपमा विकास गरिने उनको भनाइ छ ।

यस एपमार्फत तयार भएका मिनी-एप वा विजेट कम्पनीकै एप स्टोर ‘इसेन्सियल एप्स’ मार्फत प्रयोग गर्न सकिनेछ । सीईओ पेईले भने, “आगामी दिनमा एआईले अपरेटिङ सिस्टमको स्वरूप नै बदल्नेछ । किनभने यसले मानवसँग सम्बन्धित विशाल जानकारीहरूको उपयोग गर्नेछ, जुन अहिलेसम्म प्रयोगमा ल्याउन सकेको छैन । भविष्यमा परिवेशअनुसार सबै कुरा समेट्ने नयाँ खालको अपरेटिङ सिस्टम आउँछ भन्ने हाम्रो विश्वास छ ।”

उनले यो एप भिजुअल कोडिङको अवधारणामा आधारित भए पनि केही चुनौती रहने उल्लेख गरे । “विगतमा यस्तै एपहरू बने पनि सुरक्षा र मर्मतमा लगानीको कमीले ती असफल भएका थिए । तर हामी प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिँदै यो एपलाई अझ प्रभावकारी बनाउँदै लैजानेछौं,” उनले भने ।

कम्पनीका अनुसार ‘प्लेग्राउन्ड’ एप प्रयोगकर्ताले पूर्ण रूपमा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।


 

पछिल्लो अध्यावधिक: असोज १५, २०८२ ९:२१