काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले अबको कार्यस्थल र काम गर्ने शैलीको परिवेश नै बदल्दै छ । जसको परिणाम स्वरूप कम्पनीहरूले ठुलो मात्रामा कर्मचारी कटौतीदेखि उत्तिकै संख्यामा कर्मचारी भर्ती गर्ने अपेक्षा गरिएको छ । फेसबुकको माउ कम्पनी मेटाका प्रमुख मार्केटिङ अधिकृत (सीएमओ) एलेक्स शुल्ट्जले तीन ओटा पक्षको आधारमा अब कम्पनीहरूले एआईका लागि कर्मचारी निकाल्ने वा भर्ती के गर्नुपर्ने हो त्यसको निधो गर्ने छन् ।
'A16z Podcast' सँगको कुराकानीमा उनले एआईले अबको रोजगारीमा पर्न सक्ने प्रभाव र असरको बारेमा व्याख्या गरेका छन् ।
१. दक्षता वृद्धिले कर्मचारी संख्या घटाउन सक्छ
उनका अनुसार एआईले विद्यमान केही कामहरूलाई अधिक दक्ष बनाउन सक्छ । जसले मानव श्रमको आवश्यकतालाई कम गर्न सक्छ । "धेरै काम स्वचालित हुन सक्छन्, त्यसलाई अधिक दक्षतापूर्वक सकाउन सकिन्छ । जसका कारण कामको चाप घट्दै जान्छ,” शुल्ट्जले भने । यो काम अहिले ठुला प्रविधि कम्पनीहरूले कार्यान्वयन गरिसकेका छन् । उदाहरणका लागि अमेजनका सीईओ एन्डी ज्यासीले हालै अनुमान गरे कि एआईमा आधारित उत्पादकत्व कार्यान्वयन गरेका कम्पनीहरूमा मानव जनशक्तिको संख्या घटाउँदै लगेको छ । यसलाई "Great Shrinking" को उपमा दिइएको छ ।
२. नयाँ काम जो पहिला सम्भव थिएन, अब गर्न सकिन्छ
शुल्ट्जले यो पनि जोड दिएका छन् कि एआईसँग नयाँ प्रकारले यसअघि सम्भव नदेखिएका काम फत्ते गर्न सक्ने क्षमता रहन्छ । "जुन कामहरू पहिला साँच्चै सम्भव थिएनन् अब तिनीहरू सम्भव हुनेछन्," उनले व्याख्या गरे । उनले सामग्रीको अर्थ बुझ्ने क्षमतामा भएको प्रगतिलाई एउटा उदाहरणका रूपमा उल्लेख गरे । यो नवप्रवर्तनले content ranking सुधार गरेको छ र एआई बिना सम्भव नै नहुने तर्क गरेका छन् । एआई प्रशिक्षक, प्रम्प्ट इञ्जिनियर र एआई मार्गदर्शन विशेषज्ञजस्ता भूमिकाको उदयले नयाँ भविष्य देखिएको छ ।
३. महँगो कामलाई अब सुलभ बनाउने
मेटाका सीएमओले तेस्रो कारक पनि खुलासा गरेका छन् । पहिला सम्भव त थियो तर अत्यधिक महँगो थियो । अहिले एआईले त्यस्ता कामलाई व्यवहारिक र सस्तो बनाउने उनको तर्क छ । “पहिले त्यस्ता कामहरू सम्भव त हुन्थे, तर यति हदसम्म महँगो पर्थ्यो कि जोकोहीले जोहो गर्न सक्दैनथ्यो । अब त्यो सस्तो हुने देखिन्छ,” शुल्ट्जले भने । सपोर्ट च्याटबट त्यसको मुख्य उदाहरणको रुपमा हेर्न सकिन्छ । प्राविधिक रूपमा यसअघि सम्भव भए पनि ठुलो स्तरमा कार्यान्वयन गर्न यति खर्चिलो थियो कि गर्नै सकिँदैनथ्यो ।
अहिले एआईले यसलाई सस्तो बनाइदिएको छ । यी प्रणाली निर्माण तथा व्यवस्थापन गर्ने प्रक्रियाले नयाँ रोजगारी सिर्जना गरिरहेको उनको भनाइ छ । AGI ले सबै बदल्न सक्छ शुल्ट्जले अन्त्यमा एउटा चेतावनी पनि दिएका छन् । यदि Artificial General Intelligence (एजीआई) आयो भने, सबै अनुमान बेकार हुन सक्छन् ।
“तपाईंलाई कत्तिको अनौठो लाग्छ भन्ने कुरामा निर्भर गर्छ,” उनले संकेत गर्दै भने, “AGI ले श्रम समीकरणलाई पूर्णतया अव्यवस्थित बनाउन सक्छ ।” कम्पनीहरूले एआईको प्रभावसँग जुधिरहेका बेला शुल्ट्जले प्रस्तुत गरेको ढाँचा (framework)ले यो मूल्याङ्कन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । प्रविधिले भइरहेको रोजगारी खोस्ने हो कि थप सिर्जना गर्ने भन्नेमा उनी भन्छन्, “माथि उल्लेखित तीन कारकहरू कसरी सन्तुलित हुन्छन् भन्नेमा निर्भर गर्छ ।”
पछिल्लो अध्यावधिक: असोज १६, २०८२ १२:४
