काठमाडौँ । नेपालीहरूको महान चाड विजया दशमीको मुख्य दिन आज राजधानीमा राइड-शेयरिङ सेवा पाउन यात्रुहरूलाई निकै मुस्किल भएको छ । सीमित संख्यामा मात्र राइडरहरू उपलब्ध हुँदा यस्तो समस्या देखिएको हो ।
काठमाडौँ उपत्यकाका मुख्य ठाउँहरूबाटै गन्तव्यमा पुग्न खोज्ने यात्रुहरूले राइड पाउन गाह्रो भइरहेको गुनासो गरेका छन् ।
राइडको अभावसँगै यी प्लेटफर्मले तोक्ने सेवाको भाडादर पनि अन्य समयभन्दा चर्को छ । विशेषगरी इनड्राइभमा निकै महँगो भाडा देखिएको छ ।
दशैँ मनाउन आफन्तकोमा जाने क्रम बढेसँगै सडकमा सर्वसाधारणको चहलपहल बाक्लिन थालेको छ । यस्तो अवस्थामा गन्तव्यमा पुग्न राइड-शेयरिङको विकल्प कुरिरहेका यात्रुहरूलाई भने चर्को भाडा तिरेर पनि समयमै राइड नपाउँदा ठुलो सकस परिरहेको छ ।
पछिल्लो अध्यावधिक: असोज १६, २०८२ १५:४९
