close

एनएफसी प्रविधिबाट डिजिटल भिजिटिङ कार्ड बनाउने स्टार्टअप ‘फ्ल्याप’, अरू केके दिन्छ सेवा ?

टेकपाना टेकपाना

असोज १७, २०८२ १३:५३

एनएफसी प्रविधिबाट डिजिटल भिजिटिङ कार्ड बनाउने स्टार्टअप ‘फ्ल्याप’, अरू केके दिन्छ सेवा ?

काठमाडौँ । स्याटलाइट क्षेत्रमा काम गर्ने नेपाली संस्था ‘अन्तरिक्ष’ मा दुई वर्षअघिसम्म स्याटलाइट तथा हार्डवेयर आर्किटेक्चरको भूमिकामा थिए- विकल्प ढुङ्गाना । त्यहाँ उनी रेडियो फ्रिक्वेन्सी (आरएफ) टेक्नोलोजी र अल्ट्रा हाइ फ्रिक्वेन्सी (यूएचएफ) ट्याग प्रविधिको काम गर्थे । 

सो कामका लागि यूएचएफका कार्डहरू असन बजारबाट मगाउने गरिन्थ्यो । एक पटक यूएचएफ कार्ड मगाउँदा एनएफसी (निअर फिल्ड कम्युनिकसेन) कार्ड आइपुग्यो । पहिला एनएफसीको बारेमा सुने पनि विकल्पले यसबारे खासै जानकारी राखेका थिएनन् । तर एनएफसी कार्ड हात परेपछि भने यसको प्रयोगमार्फत केही गर्न सकिन्छ कि भन्नेबारे सोच्न थाले । 

“नेपालमै बसेर केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । त्यसबेला एनएफसी प्रयोग गरेर डिजिटल कार्ड बनाउनेबारे तयारी थाल्यौँ,” उनी विगत सम्झिन्छन् । तर त्यस बेलासम्म एनएफसी प्रयोग गरेर भिजिटिङ कार्ड अरूले बनाउन सुरु ग‍रेको उनलाई थाहा थिएन । ‍“सुरुमा नै थाहा भएको भए रिसर्च गर्न पनि सजिलो हुन्थ्यो । लगभग छ महिनापछि यस्तो कार्ड अरू देशमा प्रयोगमा आइसकेको थाहा भयो,” उनी भन्छन् ।

फ्ल्यापको अवधारणा सुरु हुँदा नेपालमा एनएफसी प्रयोग गरेर भिजिटिङ कार्ड बनाउने काम सुरु भइनसकेको उनको दाबी छ । त्यसैले उनले फ्ल्यापलाई नेपालको पहिलो डिजिटल कार्डका रूपमा ब्रान्डिङ गर्दै आएका छन् ।

उनले नोभेम्बर २०२३ मा फ्ल्याप प्राइभेट लिमिटेड र फ्ल्याप टेक प्राइभेट लिमिटेड दर्ता गराएर फ्ल्याप कार्ड उत्पादन तथा बिक्री गर्दै आएका छन् । फ्ल्याप कार्डलाई फ्ल्याप टेक कम्पनीको सिस्टर कम्पनी ब्रान्डको रुपमा प्रचार गरिएको छ ।

बाल्यकालदेखि नै केही न केही नयाँ कुरा बनाउन खोज्ने विकल्पले हार्डवेयरसँग सम्बन्धित धेरै आविष्कारहरूमा हात अघि बढाएका छन् । तर आफूसँग वेबसाइट निर्माण लगायतका ज्ञान नभएकाले कम्प्युटर इन्जिनियरिङ पढेका साथीहरूसँग मिलेर उनले काम सुरु गरे । 

फ्ल्याप टेक्नोलोजीको निर्देशक, सीईओ र रिसर्च डाइरेक्टरको जिम्मेवारी उनी आफैँले सम्हालेका छन् । निर्देशकको जिम्मेवारीमा पवन बम र एलिजा सापकोटा पनि जोडिएका छन् । हाल कुल ९ जनाको टिम मिलेर फ्ल्याप कार्डको अर्डरदेखि वितरणसम्मको काम गरिरहेको छ ।

के हो फ्ल्याप कार्ड ?

विकल्पको कम्पनी फ्ल्यापले तयार पारेको डिजिटल कार्ड हो, फ्ल्याप कार्ड । यो कार्डमा सामान्य रूपमा प्रिन्ट हुने गरेका भिजिटिङ कार्डमा भएका जानकारीहरू समावेश हुन्छ । कार्डमा निअर फिल्ड कम्युनिकसेन (एनएफसी) जडान गरिएको हुन्छ । यही एनएफसी फिचर भएको स्मार्टफोनको पछाडि कार्ड स्वाइप गर्दा कार्ड र स्मार्टफोनमा भएको एनएफसी एक-अर्काको सम्पर्कमा आउँछन् । र, कार्डमा भएको जानकारी साटिन्छ । एनएफसी नभएका मोबाइललाई भने क्यूआर कोड स्क्यान गरेर कार्डको विवरण दिन सकिन्छ । 

फ्ल्याप कार्ड निर्माणका लागि ग्राहकहरूलाई फ्ल्याप आईडी दिइन्छ । उक्त आईडीमा  नाम, फोटो, ईमेल, मोबाइल नम्बर, ठेगाना, काम गर्ने स्थान, पद लगायतका जानकारी सहितको जानकारी समावेश हुन्छ । 

फ्ल्यापले यी डिजिटल कार्डहरू प्लास्टिक, काठ, मेटल तथा ब्लाक मेटल गरी चार प्रकारमा उपलब्ध गराएको छ । ती सबै कार्डहरू तीन वर्षभन्दा लामो समयसम्म टिकाउ हुने विकल्पले सुनाए । यी कार्डहरूको मूल्य त्यसमा प्रयोग गरेको मटेरियल अनुसार १५ सय रुपैयाँदेखि ३५ सय रुपैयाँ  निर्धारण गरिएको छ ।

डिजिटल कार्डबाहेक साँचो झुन्ड्याउने किरिङमा पनि सोही फिचर फ्ल्यापले उपलब्ध गराएको छ । किरिङमा भने अर्काइलिक र काठबाट तयार पारिएको गरि दुई विकल्पमा तयार पार्न सकिन्छ । यस्तै फ्ल्याप वालेट पनि बजारमा ल्याइएको छ । 

विकल्प भन्छन्, “वालेट बनाउन थाल्दा नेपालमा भन्दा भारतको मटेरियल सस्तो पाउने रहेछ भनेर थाहा भयो । तर पनि हामी नेपालकै उत्पादनलाई प्रोत्साहन गर्न चाहन्छौँ । त्यसैले यहीँ ललितपुरमा बनेको लेदरको प्रयोग गर्दै आएका छौँ ।”

विशेषगरी कार्ड होल्डर राख्नका लागि तयार पारिएको उक्त वालेटमा पनि व्यक्तिको विवरण शेयर गर्न मिल्ने एनएफसी र क्यूआर राखिएको छ । उक्त वालेटको बजार मूल्य तीन हजार रुपैयाँ तोकिएको छ ।

डिजिटल कार्ड बनाउने क्रममा पसलहरूको लागि पनि यस्तै आवश्यकता रहेको महसुस गरेको विकल्प बताउँछन् । त्यसैले पसल तथा व्यवसायका लागि फ्ल्याप स्ट्यान्ड तयार पारिएको छ । उक्त स्ट्यान्डमार्फत ग्राहकहरूलाई पसलको सम्पर्क विवरण लगायतका जानकारी स्क्यान गरेर लिन सक्ने सुविधा उपलब्ध गराइएको छ ।  

सोसल मिडियामा रिडाइरेक्ट गर्न सकिने डाइनामिक क्यूआर  

पछिल्लो समयमा व्यवसायहरू भौतिक रूपमा मात्र सीमित छैन । अनलाइन प्लेटफर्म व्यवसायको राम्रो प्लेटफर्म बनेको छ । व्यवसाय तथा सेलेब्रेटीको कुनै पनि सोसल मिडियामा फलोअर बढाउन सकिने सुविधा सहितको डाइनामिक क्यूआरको सुविधा पनि फ्ल्यापले दिने विकल्पले सुनाए ।

“डाइनामिक क्यूआरमा कुनै निश्चित ठेगाना राखिएको हुँदैन । यो क्यूआरमा यूआरएल परिवर्तन गरेर प्रयोगकर्ताहरूले विभिन्न सामाजिक सञ्जालमा रिडाइरेक्ट गर्न सक्छन्,” विकल्पले भने, “कुनै पसलको गुगल रिभ्यु बढाउनु छ भने सामान्य जानकारीबाट रिडाइरेक्ट गरेर कस्टोमरले क्यूआर स्क्यान गर्दा गुगल रिभ्यु दिने लिङ्क खुल्ने बनाउन सकिन्छ । क्यूआर कोडलाई रिडाइरेक्ट गरेर टिकटक वा इन्स्टाग्राम‍जस्ता सामाजिक सञ्जालको फलोअर बढाउन पनि सकिन्छ ।”

यस्तै एनएफसी जडान गरेको औँठी पनि बजारमा ल्याउने तयारी सहित काम अघि बढाइएको उनले जानकारी दिए । 

तर एनएफसी भनेको के हो भनेर मानिसहरूलाई बुझाउन चुनौती रहेको उनको अनुभव छ । “यसले कसरी काम गर्छ भनेर नै धेरैले बुझ्नुभएको छैन । त्यसैले कसैले कार्ड लिन चाहनुभयो भने सुरुमा एनएफसीका बारेमा उहाँहरूलाई बुझाउँछौँ ।”

एनएफसी चिप्सको प्रयोगबाट आफ्नो डिभाइस ह्याक हुन सक्ने डर समेत मानिसहरूमा रहेको उनले बताए । यस डरलाई चिर्दै विकल्प र उनको टिम मानिसहरूलाई एनएफसीको बारेमा विस्तृत रूपमा बुझाउन लागिपरेको छ । 

हालसम्म फ्ल्यापमा पाँच हजार बढी प्रयोगकर्ताले आफ्नो नाम दर्ता गराएका छन् । भौतिक कार्ड लिने ग्राहकहरू उच्च पदस्थ व्यक्तिहरू समेत रहेको उनले बताए । उनका अनुसार हालसम्म ६०० भन्दा बढी व्यवसायहरूले फ्ल्यापबाट स्ट्यान्डहरू खरिद गरेका छन् । उनले भने, “हाम्रा प्रोडक्टहरू मध्ये फ्ल्याप स्ट्यान्डलाई सबैभन्दा धेरै छन् ।”

प्रयोगकर्तालाई भर्चुअल क्यूआर कोड निःशुल्क 

आफूले आम्दानी गर्ने मात्र नभएर अरुलाई कसरी सेवा दिन सकिन्छ भनेर पनि ध्यान दिइरहेको विकल्प बताउँछन् । यसका लागि अनलाइनबाटै आफ्नो डिजिटल कार्ड बनाउन चाहने व्यक्तिहरूले नि:शुल्क कार्ड बनाउन सक्छन् । उनले भने, “विश्वका टेक जायन्ट जति पनि छन्, तिनले पनि सबै सुविधाका शुल्क लिएका छैनन् । उनीहरूले केही प्रयोगकर्तासँग शुल्क लिएर संसारभरका व्यक्तिहरूलाई धेरै सुविधा नि:शुल्क गर्छन् ।”

टेक  कम्पनीहरूबाट पाएको ज्ञानले आफूले पनि नि:शुल्क फ्ल्याप आईडी र क्यूआर बनाउन सक्ने सुविधा उपलब्ध गराएको उनी बताउँछन् । भन्छन्, “अहिले कम्पनी सञ्चालनका लागि आफ्नै गोजीबाट पैसा खर्च गरिरहेको छु । मलाई चिन्ने र विश्वास गर्नेहरूले आवश्यक परेको बेलामा आर्थिक सहयोग गरिरहनु भएको छ ।” 

तर कम्पनी सञ्चालनका लागि भनेर चर्को सेवाशुल्क लिने पक्षमा आफू नरहेको उनी बताउँछन् । ग्राहकलाई आफूले सकेको सुविधा नि:शुल्क दिने पक्षमा उनी छन् ।‍ 

नि:शुल्क क्यूआर बनाएर प्रयोग गर्नका लागि ‍सबैभन्दा पहिला फ्ल्याप एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् । अब एपमा आफ्नो ईमेल एड्रेस र पासवर्ड हालेर साइन अप गरेर लगइन गर्नुपर्छ । 

त्यसपछि त्यहाँ आफ्नो नाम, फोटो, कार्यरत स्थान लगायतका जानकारी राखेर आफ्नो प्रोफाइल अपडेट गर्नुपर्छ । त्यसपछि दायाँतर्फ सबैभन्दा माथिल्लो भागमा रहेको तीन ओटा धर्सामा क्लिक गर्नुहोस् । 

ड्यासबोर्डमा तपाईँले राखेको जानकारी सहित तयार भएको क्यूआर कोड पाउन सक्नुहुन्छ । भर्चुअल माध्यममा उपलब्ध उक्त कोडलाई स्क्यान गरेर तपाईँको व्यक्तिगत जानकारी पाउन सक्छन् र सोझै मोबाइलमा सेभ गर्न सक्छन् । 

स्क्यान गर्ने व्यक्तिलाई एक्सचेन्ज नम्बरको सुविधा पनि दिइएको छ । जहाँ स्क्यान गरेको व्यक्तिले आफ्नो नाम नम्बर र ईमेल ठेगाना भर्न सक्छन् । उक्त सम्पर्क नम्बरहरू फ्ल्यापको कन्ट्याक्ट सेक्सनमा गएर बस्छ । क्रियट कार्ड अप्सनमा गएर भौतिक कार्ड निर्माणका लागि अर्डर पनि दिन सकिन्छ । वा ग्राहकहरूले फ्ल्यापको वेबसाइटबाट नै विभिन्न किसिमका सामग्री अर्डर गर्न सक्नेछन् ।  

‘लोडिङ एन्ड लिफ्टिङ रोबोट’ द‍ेखि फ्ल्यापसम्मको यात्रा 

तनहुँको दमौलीमा जन्मिएका विकल्प सानैदेखि नयाँ-नयाँ प्रयोगमा रमाउने गर्थे । किताब पढ्ने खासै रूचि नभए पनि वरिपरि देखिएका समस्या वा घटनाबाट प्रभावित भएर समाधान खोज्ने उद्देश्यले विभिन्न उपकरण बनाउन सुरु गरेका थिए ।

१४ वर्षको उमेरमा उनले घर वरिपरि पाइने सामान प्रयोग गरेर ‘लोडिङ एन्ड लिफ्टिङ रोबोट’ तयार पारे । ०७२ सालमा नेपालमा नाकाबन्दी हुँदा इन्धन अभाव देखेर उनले सौर्य ऊर्जाबाट चल्ने स्कुटर निर्माण गरे ।

उनकी ठुलीआमाको गाडी दुर्घटनामा ज्यान गएको थियो । उक्त गाडीका चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको थाहा पाएपछि विकल्पले मापसेबाट हुने दुर्घटना रोक्ने प्रविधि बनाउने बारेमा सोचेका थिए । त्यसैले उनले १८ वर्षको उमेरमा मादक पदार्थ सेवन गरिएको छ वा हेल्मेट लगाइएको छैन भने गाडीको इन्जिन स्वत: बन्द हुने प्रविधिमा काम गरे । एसएएभीपीआईएस (SAAVIPS) नाम दिइएको उक्त प्रणालीलाई उनले पोखराको ट्राफिक कार्यालयमा देखाएर परीक्षण समेत गराए ।

त्यसपछि काठमाडौँमा बढ्दो धुलो र प्रदूषणका बीच ट्राफिक प्रहरीले मास्क लगाएर सिट्ठी बजाउन सक्ने गरी उनले विशेष प्रकारको ‘ट्राफिक मास्क’ विकास गरे । कोभिड-१९ महामारीका बेला उनले हात अघि बढाउँदा साबुन आउने सेन्सर प्रणाली तथा ‘स्यानिटाइजिङ टनेल’ पनि बनाए ।

त्यसपछि तीन वर्षभन्दा बढी समय स्याटलाइट आर्किटेक्चर र हार्डवेयर आर्किटेक्चरको भूमिकामा बिताए । सो क्रममा विद्यालय स्तरका विद्यार्थीका लागि शैक्षिक स्याटलाइट कार्यक्रम सञ्चालनमा समेत सक्रिय रहे ।

२७ वर्षीय विकल्प हाल ‘फ्ल्याप’ कार्ड परियोजनामा जुटिरहेका छन् । उनले भिजिटिङ कार्डलाई डिजिटल रूपान्तरण गर्ने मात्र नभई सम्पूर्ण इकोसिस्टम बनाउने लक्ष्य लिएका छन् ।

उनका अनुसार अहिले व्यवसायमा लोयल्टी पोइन्ट प्रणालीलाई सुदृढ बनाउन काम भइरहेको छ । फ्ल्याप कार्ड प्रयोग गर्ने पसल वा व्यवसायमा ग्राहकले कार्ड ट्याब वा स्क्यान गर्दा ‘फ्ल्याप पोइन्ट’ पाउनेछन् । यी पोइन्टको आधारमा ग्राहकले छुटदेखि अन्य सुविधा पाउने र व्यवसाय व्यवस्थापनमा समेत मद्दत पुग्ने उनले विश्वास राखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज १७, २०८२ १४:१८