close

ह्वाट्सएपमा आउँदैछ युजरनेम प्रणाली, फोन नम्बर नदिई प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

असोज २१, २०८२ १२:२९

ह्वाट्सएपमा आउँदैछ युजरनेम प्रणाली, फोन नम्बर नदिई प्रयोग गर्न सकिने

काठमाडौँ । अब छिट्टै प्रयोगकर्ताले आफ्नो फोन नम्बर नदिई पनि ह्वाट्सएपमा जोडिन सक्ने भएका छन् । सुरुदेखि नै प्रयोगकर्ता पहिचानका लागि फोन नम्बर अनिवार्य राख्दै आएको ह्वाट्सएपले अब ‘युजरनेम’ प्रणाली ल्याउन तयारी गरेको हो । यो सुविधा टेलिग्राम, सिग्नल जस्ता मेसेजिङ एपमा पहिले नै उपलब्ध छ ।

हालैको एन्ड्रोइड बेटा संस्करणमा ह्वाट्सएपले प्रयोगकर्तालाई आफ्नो मनपर्ने युजरनेम अग्रिम रूपमा रिजर्भ गर्न दिने फिचर परीक्षण गरिरहेको छ । यसबाट आधिकारिक रूपमा प्रणाली लागु हुनुअघि नै प्रयोगकर्ताले आफूले चाहेको नाम सुरक्षित गर्न सक्नेछन् ।

यो व्यवस्थाले सुरुवाती प्रयोगकर्ताले लोकप्रिय नाम कब्जा गर्न नपाउने गरी समान अवसर सुनिश्चित गर्ने कम्पनीको उद्देश्य रहेको छ । तर, केही नियम लागु हुनेछन् । जस्तो युजरनेम ‘www.’ बाट सुरु गर्न पाइने छैन । यसमा कम्तीमा एउटा अक्षर अनिवार्य हुनुपर्छ र साना अक्षर, अंक, प्वाइन्ट र अन्डरस्कोर मात्र प्रयोग गर्न पाइनेछ ।

यो नयाँ प्रणालीले प्रयोगकर्ताको गोपनीयता थप सुदृढ गर्ने कम्पनीको विश्वास छ । किनभने धेरै प्रयोगकर्ता नयाँ व्यक्तिसँग सम्पर्क गर्दा आफ्नो फोन नम्बर शेयर गर्न असहज महसुस गर्छन् ।

ह्वाट्सएपको यो फिचर छिट्टै आउने हल्ला फैलिए पनि ठ्याक्कै कहिले सार्वजनिक हुन्छ भन्ने स्पष्ट छैन ।

 

पछिल्लो अध्यावधिक: असोज २१, २०८२ १३:३७