फ्याक्टचेकः बालेन-पूर्व राजाको भेट भन्दै एडिटेड तस्बिरबाट भ्रम फैलाउँदै ईशा गुरुङ लगायत
असोज २३, २०८२ १५:५६
काठमाडौँ । बुधबारदेखि सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाह र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को भेट भएको दाबी सहितको तस्बिर भाइरल भइरहेको छ । आफूलाई सामाजिक अभियन्ता बताउने ईशा माया गुरुङले बालेन र ज्ञानेन्द्र सँगै देखिने तस्बिर सार्वजनिक गरेपछि उक्त तस्बिर चर्चामा आएको हो ।
तर टेकपाना तथ्यजाँचमा ज्ञानेन्द्र र बालेन शाहको पुराना फरक फरक तस्बिरलाई एडिट गरी तयार पारिएको र उनीहरूको भेट भएको भन्दै भ्रम फैलाइएको पाइएको छ ।
दाबी
फेसबुकमा ईशा माया गुरुङले बुधबार साँझ ५:५६ मा पूर्वराजा ज्ञानेन्द्र र मेयर बालेनको तस्बिर पोस्ट गरिन् । उक्त तस्बिरमा कुनै कोठामा पूर्वराजा ज्ञानेन्द्र शाह हातमा थाली, टीका र जमरा लिएर उभिएको देखिएका छन् । उनीतर्फ फर्किएर बालेनले नमस्कार गरेका छन् भने हातमा मोबाइल समेत देख्न सकिन्छ ।
गुरुङले उक्त तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा “राजा ज्ञानेन्द्र शाह र मेयर बालेन शाह” लेखेकी छिन् । यो सामग्री तयार पार्दा सम्म उक्त पोस्टमा ३३ सयभन्दा धेरै रियाक्सन र करिब ६०० कमेन्ट आइसकेको थियो । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
गुरुङको पोस्टपछि हामीले ‘बालेन ज्ञानेन्द्र शाह’, ‘Gyanendra Balen’ लगायतका किवर्ड राखेर खोज्दा सोही दाबी सहितका अन्य पोस्टहरू पनि फेला परे ।
सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता ‘Vimsen Khanal’ ले पनि सोही तस्बिर फेसबुकमा शेयर गरेको भेटियो । उनले लेखेका छन्, “याे समय श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाहदेबले श्रीपेच लगाउने र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री Balen Shah Balen बन्नु पर्ने समयकाे माग छ ।” हेर्नुहोस्, पोस्ट र स्क्रिनशट
अर्का फेसबुक प्रयोगकर्ता ‘Gyan Prasad Pandey’ ले बुधबार दिउँसो ४:१६ मा सोही पोस्ट गरेको भेटियो । जहाँ उनले लेखेका छन्, “राजा ज्ञानेन्द्र शाह को र Balen भेट आन्तरिक भयको छ” । हेर्नुहोस् पोस्ट र स्क्रिनशट
सामाजिक सञ्जालमा सार्वजनिक उक्त फोटोमा ‘@nepalfoolish’ लेखिएको वाटरमार्क देख्न सकिन्छ । त्यसैले हामीले गुगलमा nepalfoolish सर्च गरेर खोज्दा ‘Nepal Foolish’ नामक एक फेसबुक पेज फेला पर्यो । उक्त पेजले बुधबार बिहान ११:५८ मा ज्ञानेन्द्र र बालेनको फोटो सार्वजनिक गरेको छ । तर यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा कुनै लाइक कमेन्ट छैन । पोस्ट र स्क्रिनशट ।
त्यसपछि हामीले उक्त तस्बिरको वास्तविकता पत्ता लगाउन गुगल रिभर्स इमेजमा फोटो राखेर हेर्यौँ । यसरी खोज्दा पूर्वराजा ज्ञानेन्द्रको करिब एक वर्ष पुरानो फोटो फेला पर्यो । भाइरल तस्बिरमा जस्तै उनी हातमा पूजाको थाली लिएर उभिएका छन् । तर हातको थालीमा जमराको सट्टा दियो बलिरहेको छ ।
‘The Royal Family Nepal.’ नामक भेरिफाइड अकाउन्टबाट उक्त तस्बिर ५ अक्टोबर २०२४ अर्थात् एक वर्ष पहिला सार्वजनिक भएको हो । उक्त पोस्टमा लेखिएको छ, “बडा दसैँको उपलक्ष्यमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारबाट भुटानको राजधानी थिम्पु स्थित पान्चायन मन्दिरमा पुजा अर्चना। २०८१, असोज १९
” । गत वर्ष घटस्थापनाका दिन (३ अक्टोबर) पूर्व राजपरिवार भुटानी राजपरिवारको निम्तोमा थिम्पु गएको थियो भने ६ अक्टोबरमा नेपाल फर्किएको थियो । त्यसैले उक्त तस्बिर सोही समयमा खिचिएको पुष्टि हुन्छ । हेर्नुहोस्, पोस्ट र स्क्रिनशट ।
त्यसपछि हामीले गुगल रिभर्स इमेजमा भाइरल फोटोमा देखिएको बालेनको फोटो पनि राखेर सर्च गर्यौँ । यसरी खोज्दा ६ सेप्टेम्बर (२१ भदौ) मा सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक भएको एक तस्बिर फेला पर्यो । ‘sharmagirwan’ नामक फेसबुक प्रयोगकर्ताले उक्त तस्बिर इन्द्रजात्रा अवलोकन गरिरहेको समयको भएको दाबी गरेका छन् । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
यी दुई तस्बिरसँग भाइरल फोटोमा देखिएका बालेन र पूर्वराजा ज्ञानेन्द्रसँग मेल खायो । त्यसैले काठमाडौँका मेयर बालेन शाह र पूर्वराजा ज्ञानेन्द्र शाह फरक फरक स्थान र समयमा खिचिएको तस्बिरहरूलाई एडिट गरेर भ्रम फैलाइएको देखियो ।
दाबी
पूर्वराजा ज्ञानेन्द्र शाह र काठमाडौँका मेयर बालेन शाहको भेट भयो ।
दाबीकर्ता
ईशा माया गुरुङ लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
-
भाइरल तस्बिरमा देखिएको दृश्य वास्तवमा दुई फरक तस्बिर जोडेर बनाइएको हो ।
-
पूर्वराजा ज्ञानेन्द्रको फोटो ‘The Royal Family Nepal’ पेजमा ५ अक्टोबर २०२४ मा पोस्ट भएको छ । जसमा उनी भुटानस्थित पान्चायन मन्दिरमा पूजा गर्ने क्रममा हातमा दियो लिएका छन् ।
-
मेयर बालेनको तस्बिर ६ सेप्टेम्बर २०२५ (इन्द्रजात्राको दिन) बाट सामाजिक सञ्जालमा सार्वजनिक भएको फेला पर्यो ।
निष्कर्ष
बुधबारदेखि सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाह र काठमाडौँका मेयर बालेन शाहको भेट भएको दाबी सहितका तस्बिरहरू सार्वजनिक भएका छन् । सामाजिक अभियन्ता ईशा माया गुरुङ सहित सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेको उक्त तस्बिर भने भ्रामक रहेको पाइएको छ ।
गुगल रिभर्स इमेज सर्च गर्दा उक्त तस्बिर बालेन र ज्ञानेन्द्रको फरक फरक समय र स्थानमा खिचिएका तस्बिरहरूलाई एडिट गरेर तयार पारिएको पत्ता लागेको हो । त्यसैले उक्त तस्बिरका आधारमा बालेन र ज्ञानेन्द्रको भेट भएको भन्ने दाबी भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: असोज २३, २०८२ १६:१२
