काठमाडौँमा जोड्न थालियो एनएफसी चिप प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली
असोज २९, २०८२ १६:१४
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ ले लैनचौर क्षेत्रबाट एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान सुरु गरेको छ ।
लैनचौरस्थित वडा कार्यालयमा ‘०९–लक्ष द्रव्य ६१११’ नम्बरको प्लेटसहितको डिजिटल ठेगाना प्रणाली जडान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले शुभारम्भ गरेका हुन् ।
वडा कार्यालयपछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै अन्य क्षेत्रमा प्लेट जडान गर्ने योजना छ । डिजिटल ठेगाना प्रणाली खरिद तथा जडान गर्न २६ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा टेन्डर अघि बढाएर काम सुरु गरेको हो । यसको लागत ४५ लाख रुपैयाँ हो ।
६ हजार ८५० घर संख्या रहेको वडाभित्र २०८२ कात्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने लक्ष्य छ । काम ठेक्का जेबीएस इन्फ्रास्ट्रक्चरले पाएको छ ।
वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना तथा बाटोका नामहरुलाई यथावत राखी क्यूआर कोड र चिप्स सहितको ठेगाना प्लेट जडान गरिएको जानकारी दिए । “जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोडसँगै युनिभर्सल गुगल प्लस कोड हुनेछ । प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाए मात्र पुग्छ । यसमा भएको क्यूआर स्क्यान गरेपछि लोकेसनमा पुग्न सकिन्छ,” उनले भने ।
एल्मुनियममा लेजर मार्फत खोपेर तयार गरिएको एनएफसी ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ । यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन । यो आईडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरी बनाइएको छ ।
नम्बर प्लेटमा राखिएको क्यूआर कोडको प्रयोगले घरमा आउने पाहुनाले ‘डोर बेल’ को रुपमा प्रयोग गर्न सक्छन् । फोहोर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्यून लागतमा काम गर्न सकिन्छ ।
“विद्युतीय शासनको पहिलो पूर्वाधार भनेकै सेवाग्राहीको घर र ठेगाना प्रणाली हो । यसबाट विद्युतीय नागरिक सहभागिता सुनिश्चित गराउन सकिन्छ । यो भनेको शासन प्रणालीमा नागरिकको प्रत्यक्ष सहभागिता हुने अवसर हो । आफू बसेकै ठाउँबाट सेवा प्राप्त अवस्था हो । यो आधारमा टेकेर धेरै काम गर्न सकिन्छ । यो प्रविधि अन्य वडाहरूमा पनि विस्तार हुँदै जानेछ,” तिवारीले भने ।
पछिल्लो अध्यावधिक: असोज २९, २०८२ १६:२७
