close

वाकी-टकीले जस्तै काम गर्ने साओमीको अफलाइन कम्युनिकेसन फिचर नेपालमा पनि, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

असोज २९, २०८२ १७:४१

वाकी-टकीले जस्तै काम गर्ने साओमीको अफलाइन कम्युनिकेसन फिचर नेपालमा पनि, कसरी गर्ने प्रयोग ?

काठमाडौँ । साओमीको ‘अफलाइन कम्युनिकेसन’ फिचर नेपालमा पनि उपलब्ध भएको छ । साओमी नेपालले हालै एक सूचनामार्फत यो फिचर उपलब्ध भएको जानकारी दिएको हो । 

अफलाइन कम्युनिकेसन’ फिचरबाट मोबाइलमा नेटवर्क वा सेलुलर कनेक्सन नभएको अवस्थामा पनि एक अर्कासँग सिधा भ्वाइस कल गर्न सकिन्छ । यो सुविधा कम्पनीको नयाँ स्मार्टफोन ‘साओमी १५टी’ सिरिजमा उपलब्ध छ, जसले फोनलाई प्रभावकारी रूपमा वाकी-टकीमा परिणत गर्छ ।

परम्परागत वाकी-टकी नेटवर्क नभएका ठाउँमा सञ्चारका लागि प्रयोग हुन्छन् । यद्यपि सामान्य स्मार्टफोनमा आवश्यक रेडियो फ्रिक्वेन्सीमा प्रसारण गर्ने हार्डवेयर हुँदैन । साओमी १५टी सिरिजले यो समस्यालाई अन्य फोनभन्दा शक्तिशाली ब्लुटुथ एन्टेना प्रयोग गरेर समाधान गरेको जनाएको छ । यसले नेटवर्क वा सेलुलर जडान बिना नै लामो दूरीमा अन्य १५टी डिभाइससँग सिधै भ्वाइस कल गर्ने सुविधा दिन्छ ।

साओमीका अनुसार १५टी प्रो मोडलले १.९ किलोमिटरसम्म र स्ट्यान्डर्ड १५टी मोडलले १.३ किलोमिटरसम्मको दूरीमा कनेक्सन गर्न सक्छ । 

तस्बिर: एन्ड्रोइड अथोरिटी

यो सुविधा साओमीको आफ्नै ‘एस्ट्रल कम्युनिकेसन’ सुइट अन्तर्गत पर्छ । यो सुइट कम्पनीको कस्टम ‘सर्ज टी१एस ट्युनर’ र ‘सुपर एन्टेना एरे’ जस्ता हार्डवेयरमा निर्भर छ ।

तस्बिर: एन्ड्रोइड अथोरिटी

यो सुविधा प्रयोग गर्नका लागि दुवै व्यक्तिसँग साओमी १५टी सिरिजको फोन हुनुपर्छ । साथै कम्पनीले उल्लेख गरेको दूरी खुला र अवरोध नभएको वातावरणमा मात्र सम्भव हुनेछ । यो फिचर विशेषगरी पदयात्रा (ट्रेकिङ) गर्ने, नेटवर्क नहुने ठाउँमा घुम्न जाने वा आपतकालीन अवस्थामा सम्पर्कमा रहन चाहनेका लागि निकै उपयोगी हुने जनाइएको छ । 

साओमी १५टी प्रोका अन्य विशेषता

अफलाइन कम्युनिकेसन फिचरका अलावा साओमी १५टी प्रो एक आकर्षक फ्ल्यागशिप फोन हो । यसमा ५० मेगापिक्सेलको मुख्य वाइड-एङ्गल लेन्स, ५० मेगापिक्सेलको ५एक्स टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा-वाइड एङ्गल लेन्स सहितको ट्रिपल क्यामेरा सेटअप छ । फोनमा ६.८३ इन्चको ठूलो ओएलईडी डिस्प्ले छ, जसले १४४ हर्जको रिफ्रेस रेट र ३२०० निट्सको पीक ब्राइटनेस सपोर्ट गर्छ ।

प्रोसेसरका सन्दर्भमा यसमा मिडियाटेकको शक्तिशाली डिमेन्सिटी ९४००+ चिपसेट प्रयोग गरिएको छ जसलाई १२ जीबी र्‍याम र १ टीबीसम्मको स्टोरेजसँग जोडिएको छ ।फोनमा ५,५०० एमएएचको ब्याट्री भएको यस फोनले ९० वाटको वायर्ड र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्छ । त्यसैगरी यसले वाई-फाई ७ र ब्लुटुथ ६.० जस्ता नवीनतम कनेक्टिभिटी मापदण्डहरूलाई समर्थन गर्दछ ।

युरोपमा साओमी १५टी प्रोको सुरुवाती मूल्य ७९९ युरो तोकिएको छ भने सामान्य १५टी मोडेलको मूल्य ६४९ युरोबाट सुरु हुन्छ । नेपालमा यसको उपलब्धता र मूल्यबारे कम्पनीले चाँडै जानकारी दिने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८२ १८:१२