काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले करिब पाँच वर्षपछि आफ्नो एन्ड्रोइड आधारित अपरेटिङ सिस्टम ओरिजिन ओएसलाई विश्व बजारमा विस्तार गरेको छ । चीनमा फनटच ओएसलाई प्रतिस्थापन गरी प्रयोग हुँदै आएको यो प्रणाली अहिले आफ्नो छैटौँ संस्करणमा पुगेको छ भने नयाँ संस्करणसँगै अब अन्य देशमा पनि उपलब्ध हुनेछ ।
भिभोले यस पटक प्रस्तुत गरेको ओरिजिन ओएस सिक्सले प्रयोगकर्तालाई नयाँ अनुभव दिने दाबी गरे पनि यसका धेरै फिचरहरू अन्य मोबाइल अपरेटिङ सिस्टमसँग निकै मिल्दोजुल्दो देखिन्छन् । तर, कम्पनीले केही फिचरहरूमा आफ्नै मौलिक ट्विस्ट थपेर फरकपन ल्याउने प्रयास गरेको छ ।
उदाहरणका लागि ओरिजिन ओएस सिक्सको लकस्क्रिन पूर्णरूपमा कस्टमाइज गर्न सकिन्छ । क्लक (घडी) को फन्ट चयनदेखि लिएर वालपेपरको विषयवस्तुसम्म परिवर्तन गर्न सकिन्छ । भिभोले यसलाई अझ रोचक बनाउन नयाँ एनिमेसन फिचर थपेको छ । जसमा मोबाइल हल्का ढल्किँदा वालपेपर पनि एनिमेट हुन्छ ।
इन्टरफेसका एनिमेसनहरूलाई कम्पनीले ‘वाटर रिपल’ (Water Ripple) बाट प्रेरित बनाएको छ । यसले एपहरूबिचको ट्रान्जिसनलाई सहज र आकर्षक बनाउने कम्पनीको दाबी छ ।
नयाँ ओएसमा रहेको ओरिजिन आइल्यान्ड (Origin Island) फिचर अन्य कम्पनीको ‘डाइनामिक आइल्यान्ड’ सँग धेरै मिल्दो छ । यो फिचरले नोटिफिकेशन, स्टाटस र रियल–टाइम जानकारी स्क्रिनको माथिल्लो भागमा देखाउँछ ।
सबैभन्दा फरक र उल्लेखनीय फिचर भनेको सिमलेस कनेक्टिभिटी हो । यसले भिभोका विभिन्न डिभाइसबिच फाइल, सामग्री र कामलाई सहज रूपमा ट्रान्सफर गर्न सहयोग पुर्याउने बताइएको छ । तर, यसको प्रयोगका लागि अर्को डिभाइसमा भिभो अफिस किट इन्स्टल गरिएको हुन आवश्यक छ ।
भिभोले हालै लन्च गरेको एक्स३०० सिरिज स्मार्टफोनमा ओरिजिन ओएस सिक्स पहिल्यै प्रि-इन्स्टल गरिएको छ । कम्पनीले अन्य डिभाइसका लागि पनि अपडेट रोडम्याप सार्वजनिक गरेको छ । जसअनुसार एक्स फोल्ड फाइभ र एक्स२०० सिरिज ले नोभेम्बरदेखि यो अपडेट प्राप्त गर्नेछन् ।
पछिल्लो अध्यावधिक: असोज २९, २०८२ २३:५४
