close

उद्योग मन्त्रालयको कार्ययोजना: नेपाली उत्पादन बेच्न आफ्नै पोर्टल, माघसम्म ईकमर्श निर्देशिका

टेकपाना टेकपाना

असोज ३०, २०८२ १६:५

उद्योग मन्त्रालयको कार्ययोजना: नेपाली उत्पादन बेच्न आफ्नै पोर्टल, माघसम्म ईकमर्श निर्देशिका

काठमाडौँ । उद्योग मन्त्रालयले माघसम्ममा निजी क्षेत्रसँगको सहकार्यमा स्वदेशी वस्तुहरूको खरिद-बिक्रीलाई सहज र व्यवस्थित बनाउन ‘नेपाली उत्पादन’ नामक विद्युतीय पोर्टल तयार गर्ने भएको छ । मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना २०८२ तयार गर्दै उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा गर्ने सुधारका कामको समयसीमा तय गरेको हो । 

यसअन्तर्गत आगामी पुसभित्र स्टार्टअप उद्यमीहरूलाई बिना धितो तीन प्रतिशत ब्याजदरमा ऋण दिन प्रस्ताव आह्वान गरेर संक्षिप्त सूची प्रकाशन गर्ने मन्त्रालयको तयारी छ । मन्त्रालयले विद्युतीय व्यापार (ई-कमर्श) सम्बन्धी निर्देशिका पनि ल्याउने भएको छ । माघसम्ममा मन्त्रालयले निर्देशिका तर्जुमा गर्दै कार्यान्वयनमा ल्याउने भएको हो । 

यस्तै, मन्त्रालयले नेपाल आयल निगममा टोल फ्री नम्बर राखेर गुनासो सुनुवाइलाई कात्तिकसम्ममा व्यवस्थित गर्ने कार्ययोजना ल्याएको छ ।

मन्त्रालयले आगामी मंसिरभित्र तालिम तथा प्रविधि हस्तान्तरणका लागि आवेदनहरू अनलाइन माध्यमबाट संकलन गरेर छनोट गर्ने भएको छ । यस्तै, खानी तथा खनिज पदार्थको अनुमति, नवीकरणलगायतका खानी प्रशासनसम्बन्धी कार्यका लागि ‘Mines Management Information System’ (MMIS) तयार गरेर सुरु गर्ने लक्ष्य राखिएको छ । 

मन्त्रालयले कम्पनीले अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने विवरणहरू कम्पनी रजिष्ट्रारको कार्यालय वा उद्योग विभागको वेबसाइटमा अनिवार्य प्रकाशनको व्यवस्था मिलाउने भएको छ । यसका साथै कम्पनीका पुराना अभिलेखहरू डिजिटलाइजेसन गर्ने तयारी मन्त्रालयको छ ।

त्यस्तै, परराष्ट्र मन्त्रालयसँगको समन्वयमा विदेशस्थित नेपाली नियोगहरूसँग व्यापार तथा लगानीका सम्बन्धमा भर्चुअल माध्यमबाट त्रैमासिक/निरन्तर छलफल गर्ने कार्ययोजना छ ।

साथै, अनलाइन रजिस्ट्रेसन प्रणालीको विकासका लागि मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद प्रक्रिया माघसम्ममा अघि बढाउने लक्ष्य लिइएको छ । मंसिरसम्ममा मन्त्रालयले आयात इजाजतपत्र पूर्ण रुपमा अनलाइनबाट जारी गर्ने व्यवस्था मिलाउने लक्ष्य बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ १६:५०