काठमाडौँ । अर्बपति एलन मस्कको सामाजिक सञ्जाल एक्सले अब निष्क्रिय रहेका युजरनेम बिक्री गर्ने भएको छ । कम्पनीले ‘एक्स ह्यान्डल मार्केटप्लेस’ मार्फत आफ्ना प्रिमियम प्लस र प्रिमियम बिजनेस प्रयोगकर्तालाई यस्तो सुविधा दिन लागेको हो ।
कम्पनीका अनुसार युजरनेमलाई दुई मुख्य श्रेणीमा विभाजन गरिनेछ । पहिलो ‘प्रायोरिटी ह्यान्डल’ निःशुल्क हुनेछ, जसमा प्रायः पूरा नाम, एकभन्दा बढी शब्द भएका वाक्यांश वा अक्षर र अंकको संयोजन समावेश हुनेछन् ।
दोस्रो ‘रेअर ह्यान्डल’ (दुर्लभ युजरनेम) का लागि भने शुल्क तिर्नुपर्नेछ । यस्ता युजरनेमको मूल्य माग र विशिष्टताका आधारमा २५ सय डलरदेखि १० लाख डलर (सात अंक) भन्दा बढीसम्म पर्न सक्ने कम्पनीले जनाएको छ ।
एक्सले यो सुविधालाई एक पटकको लागि मात्र नभई आफ्ना सशुल्क ग्राहक आकर्षित गर्ने निरन्तर सेवाको रूपमा विकास गर्न खोजेको छ । यदि कुनै प्रयोगकर्ताले नयाँ युजरनेम लिएमा उसको पुरानो युजरनेम फ्रिज हुनेछ । भविष्यमा कम्पनीले शुल्क लिएर पुरानो युजरनेमलाई नयाँमा रिडाइरेक्ट गर्ने विकल्प पनि ल्याउन सक्ने बताइएको छ ।
तर, सबैभन्दा महत्त्वपूर्ण कुरा यदि कुनै प्रयोगकर्ताले आफ्नो प्रिमियम सब्स्क्रिप्सन डाउनग्रेड गरे वा रद्द गरेमा उसको खाता पुरानै युजरनेममा फर्किनेछ । यस्तो अवस्थामा मार्केटप्लेसबाट किनेको वा प्राप्त गरेको नयाँ युजरनेम स्वतः गुम्नेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८२ १५:२४
